गजल र कवितामा सुशिला र हेम

मङ्सिर १७ गते सम्पन्न ‘दोस्रो छायाछवि काव्य शृंखला’ मा गजलकार सुशिला पोडेल र कवि हेम प्रभाषले गजल र कविता वाचन गरेका छन् l बागबजारस्थित सिटी म्याक्सको सभा कक्षमा आयोजित सो समारोहमा गजलकार सुशीलाले १२ वटा गजल पाठ गरेकी थिईन् भने कवि हेमले ९ वटा कविता सुनाएका थिए l कार्यक्रम प्रसिद्ध गजलकार ज्ञानुवाकर पौडेल र वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l
समारोहमा आयोजकका तर्फबाट सबैलाई स्वागत गर्दै पत्रकार शान्तिप्रियले हरेक महिना आयोजना गर्ने लक्ष्यका साथ गत भदौमा पहिलो कार्यक्रम आयोजना गरिएको भएपनि विविध कारणवश दोस्रो कार्यक्रम ढिला भएको जानकारी गराएका थिए l उनले अगाडि भने-‘म साहित्यबाट नै पत्रकारितामा प्रवेश गरेको हुँदा यस क्षेत्रमा पनि नयाँ केही गरौँ भन्ने लागेर नै यस प्रकारको कार्यक्रमको थालनी गरिएको हो l’ समारोहमा दुबै साहित्यकारलाई प्रमुख अतिथिहरुबाट माल्यार्पण गर्दै केही नगदका साथमा प्रसंशापत्र प्रदान गरिएको थियो l कार्यक्रम रश्मी रोदनले संचालन गरेकी थिईन् l