फाष्ट फाष्ट ‘सेल्फी-३’ छिट्टै आउने

सङ्गीतमा व्यावसायिकता बढेसंगै स्रष्टा-कलाकारहरुमा पनि नयाँ नयाँ शैली र स्वाद पस्कने प्रतिस्पर्धा नै चलेको छ l बजारमा धेरै प्रकारका अवसरहरु भएकोले जो चल्यो उसैले बाजी मार्ने कुरा निश्चित छ l चलेका स्रष्टा कलाकारको एकातिर पारिश्रमिकको रेट बढ्ने गर्दछ भने अर्कोतिर डिजिटल व्यावसाय र स्टेजले नसोचेका प्रतिफलहरु दिने गर्दछन् l जसका लागि सर्जक-कलाकारले वर्तमानमा चलेका धारलाई समात्दै नयाँ नयाँ शैली र मिठासको सिर्जनामा पनि आफूलाई ‘अपडेट’ गर्न सक्नुपर्दछ l यही होडमा अहिले डश म्युजिकको उपस्थितिलाई पनि अब्बल मान्न सकिन्छ l      आरम्भमा ‘सेल्फी हानौला’ बोलको गीतबाट रातारात चर्चामा आएको डश समूह यतिबेला बजारमा ठूलै हलचल ल्याउने विश्वासका साथ ‘फाष्ट फाष्ट’ {सेल्फी हानौला-३} रिलिज गर्ने अन्तिम तयारी गरिरहेको छ l यस समूहको ‘सेल्फी हानौला’ पछि गतवर्ष रिलिज भएको ‘ट्युशन पढाउँछु’ {सेल्फी-२} ले पनि त्यत्तिकै चर्चा पाएको थियो भने ‘डश’ बाट प्रकाशित अन्य धेरै गीत स्रोताले उत्तिकै मन पराएका छन् l यो समूह सुरुमा सेल्फीबाटै चर्चामा आएकोले यसलाई शृंखलाबद्ध अगाडि बढाईने कुरा गीतकार डी. पी. खनाल बताउँछन् l गीतकार डी. पी. खनाल, सङ्गीतकार/गायक शंकर थापा ‘स्माइल’ र गायक/एरेन्जर उदयराज पौडेलको संयुक्त नाम नै ‘डश’ हो l उनीहरुले आ-आफ्नो नामको अगाडिको अंग्रेजी अक्षरबाट यो नयाँ नामको सिर्जना गरेका हुन् l यसै नामबाट सञ्चालित म्युजिक कम्पनीले पनि बजारमा एकपछि अर्को राम्रा गीत पस्किरहेको छ l
हालै प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता’ मा समावेश भएको आइटम गीत ‘चोली’ पनि यसै समूहको सहकार्यको उपज हो l नयाँ-पुराना पुस्ताका चर्चित कलाकारहरुसंग पनि त्यत्तिकै सहकार्य गरिरहेको ‘डश’ समूहका थुप्रै गीत यतिबेला बजारमा आउने क्रममा छन् l प्रमोद खरेलको ‘दन्तैमा’, मेलिना राई र किरण भुजेलको ‘,माया म फेरि लाउँदिन’, समीर मोक्तानको ‘निरमाया’, सुन्दर भक्तको ‘क्यालेन्डर’ आदि गीतहरु छिट्टै बजारमा आउने तयारीमा रहेको थाहा भएको छ l विल्कुलै नयाँ कलाकारहरुसंग समेत सहकार्य गरिरहेको यो समूह यतिबेला विभिन्न चलचित्रका गीत तयारीका लागि पनि समेत जुटिरहेको छ l  भिन्न भिन्न विधाका स्रष्टा-कलाकार मिलेर घोषित रुपमै समूह बनाई अत्यन्तै हार्दिकता र विश्वासका साथ यसरी गरिएको सहकार्य सम्भवत: यो नै पहिलो हो l विशेष परिस्थिति बाहेक शब्द, सङ्गीत, स्वर र म्युजिक एरेन्जका लागि उनीहरु समूहबाट बाहिर निस्कदैनन् l गायक, सङ्गीतकार र एरेन्जर व्यावसायिक भएर बाँच्न सक्ने आधारहरु धेरै छन् l तर गीत लेखनलाई मात्र पेशा बनाएर बाँचेका मान्छे विरलै होलान् l डश समूहका डी.पी. खनाल एक यस्ता उदाहरणीय गीतकार हुन् जो गीत लेखनलाई नै मुख्य पेशाको रुपमा अंगाल्न सक्षम भएका छन् l