‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ को आवेदन फारम खुल्यो

-तुलसी गिरी ‘भावुक’


क्वालिटी फिल्म्सको आयोजनामा ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’ को आयोजना हुने भएको छ l क्वालिटी फिल्म्स तथा अवार्ड कार्यक्रमका निर्देशक उमेश गुरुङले सो कुरा जानकारी गराएका हुन् l निर्देशक गुरुङका अनुसार अवार्डमा प्रतिस्पर्धाका लागि २०७६ बैशाख १ गतेदेखि २०७८ असार मसान्तसम्ममा प्रकाशित गीत-सङ्गीतका सर्जक, कलाकार र प्राविधिकहरुले आगामी साउन १५ गतेसम्म आवेदन दिन सक्ने छन् l

प्राप्त जानकारी अनुसार अवार्ड प्रतिस्पर्धाका लागि आधुनिक, गजल, पप, लोकपप, चलचित्र, लोक, लोकदोहोरी, राष्ट्रिय, भाषाभाषी, पर्व र भेगीय गीत तथा तीनमा आवद्ध सर्जक, कलाकार र प्राविधिकहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्ने छन् l ईच्छुकहरुले अनामनगरस्थित क्वालिटी फिल्म्सको कार्यालयबाट फारम लिएर वा Quality Entertainment Awards नामक फेसबुक पेजबाट फारम डाउनलोड गरी अवार्डका लागि आवेदन दिन सक्ने छन् l गायक-गायिकाको विधामा म्युजिक भिडिओ अनिवार्य हुने छैन l अवार्ड सम्बन्धमा थप जानकारीका लागि निर्देशक उमेश गुरुङको मोबाइल नम्बर ९८४१३११२३८ वा ९८४३७७७४९४ मा समेत सम्पर्क गर्न सकिने छ l अवार्ड प्रतिस्पर्धामा सहभागी हुनका लागि प्रति विधा रू. १०००/- [ एक हजार रुपैया ] शुल्क लाग्ने कुरा समेत निर्देशक गुरुङले जानकारी गराएका छन् l

निर्देशक गुरुङका अनुसार भोटिङ र जुरीको मूल्याङ्कनको आधारमा बिजेताको छनोट गरिने छ l प्रतिस्पर्धात्मक विधा बाहेक अवार्ड समारोहमा सङ्गीत पत्रकारिता पुरस्कार, राष्ट्रिय नारी सम्मान, सामाजिक सेवा सम्मान र क्वालिटी फिल्म्स सम्मान समेत प्रदान गरिने कुरा थाहा भएको छ l परिस्थिति असहज नभएमा आगामी भदौको पहिलो साता टप फाइभको नोमिनेशन प्रकाशित गरिने र असोजमा अवार्ड समारोहको आयोजना हुने कुरा निर्देशक गुरुङले जानकारी गराएका छन् l