साहित्यकार मञ्जुश्री ‘अभिवन्दना पत्र’ द्वारा सम्मानित

तुलसी गिरी ‘भावुक’


साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्रीलाई अभिवन्दना पत्रद्वारा सम्मान गरिएको छ l मञ्जुश्रीको ६० वर्ष उमेर पुगेको अवसरमा लिला–मध्यमार्ग अक्षयकोष, शब्दयात्रा प्रकाशन, गुरुकुल पाठशाला, नैमिषारण्य, मानव अधिकार सङ्गठन काभ्रे लगायत पाँच दर्जनभन्दा बढी सङ्घ संस्थाहरुले गत शनिबार मोती महोत्सव नामक कार्यक्रमको आयोजना गरी  मञ्जुश्रीलाई अभिवन्दना पत्रद्वारा सम्मान गरेका हुन् । मोती महोत्सव मूल समारोह समितिको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा मञ्जुश्रीलाई समारोहका प्रमुख अतिथि काठमाण्डौ  विश्वविद्यालयका उपकूलपति प्रा.डा. भोला थापाले अभिवन्दना लेखिएको ६ फिटको ताम्रपत्रद्वारा सम्मान गरेका थिए ।

आयोजक समितिका अध्यक्ष तथा समाजसेवी भरत जंगमको सभापतित्वमा सम्पन्न सो समारोहमा चन्द्र बहादुर खड्काले अतिथिहरुलाई स्वागत गरेका थिए । सोही अवसरमा हरि मञ्जुश्रीबाट लिखित पुस्तक शब्दकला नायकको काठमाण्डौ विश्वविद्यालयका उपकूलपति डा. भोला थापा, संस्थापक उपकूलपति सुरेशराज शर्मा र आयोजक समितिका अध्यक्ष भरत जंगमले संयुक्त रुपमा थैली खोलेर विमोचन गरेका थिए । साहित्यकार मञ्जुश्रीलाई सोही अभिवन्दना समारोहमा शब्द सारथि  पदबाट समेत सम्मान गरिएको थियो ।

मञ्जुश्रीले १ अनुदित पुस्तक, १ टेलिचलचित्र, ३ रेडियो नाटक, ३२ मौलिक पुस्तक, २ सयभन्दा बढी पुस्तकमा प्रकाशकीय र १ सय ५० भन्दा बढी पुस्तकहरुमा मन्तव्य लेखिसकेका छन् भने उनी विभिन्न साहित्यकारका ९२ पुस्तकका भाषा सम्पादक समेत हुन् l विभिन्न दैनिक, साप्ताहिक, मासिक, विशेषाङ्कहरु लगायतका पत्र पत्रिकाहरुमा सम्पादकको जिम्मेवारी समेत निर्वाह गरिसकेका मञ्जुश्रीका १५ सयभन्दा बढी फुटकर प्रकाशनहरु समेत छन् । उनी धेरै पत्रकार तथा साहित्यकारहरुका पथ प्रदर्शक समेत हुन् l अभिवन्दना पत्र हस्तान्तरण पश्चात् विशिष्ट अतिथिहरुले एउटा पाटो हरि मञ्जुश्री र अर्को पाटो शब्दयात्रा प्रकाशन रहेको चर्चा गरेका थिए ।

मञ्जुश्रीले २०४२ साल मङ्सिरबाट काठमाण्डौ, मैतिदेवीस्थित पञ्चकुमारी छापाखानाबाट मुद्रण हुने स्व. रामचन्द्र हुमागाईंद्वारा सम्पादित पत्रिका  नेपालभूमि साप्ताहिकमा साहित्य र कला दुई विधाका स्तम्भकार एवं प्रुफ रिडरको रुपमा काम गरी व्यावसायिक पत्रकारिताको सुरुआत गरेका थिए । अभिवन्दना समारोहमा हरि मञ्जुश्रीकी धर्मपत्नी गीता मञ्जुश्रीको पनि उपस्थिति रहेको थियो l