ढाकामा साँस्कृतिक संस्थानको रोमाञ्चक प्रस्तुति


नेपाली कलाकार टोलीले बंगलादेशको राजधानी ढाकास्थित नेशनल परेड ग्राउण्डमा रोमाञ्चक साङ्गीतिक प्रस्तुति दिएको छ । नेपाल र बंगलादेशका कलाकारले एउटै मञ्चमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन् । बंगलादेशका राष्ट्रपिता बंगबधु शेख मुजिबर रहमानको सतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सरिक सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीका साथ नेपाली कलाकार टोली पनि प्रस्तुतिका लागि ढाका पुगेका हुन् । सांस्कृतिक संस्थान ( राष्ट्रिय नाचघर ) का महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा १९ जना कलाकार राष्ट्रपतिको भ्रमण टोलीमा सहभागी थिए । समारोहमा नेपाली कलाकार टोलीले राष्ट्रिय भावना जागृत गराउने विभिन्न नृत्य एवं मादल, बाँसुरी र सारंगी मार्फत चर्चित नेपाली लोकधुन प्रस्तुत गरेको थियो ।

टोलीमा बाद्यवादनतर्फ बाँसुरीमा दुर्गाप्रसाद खतिवडा, मादलमा नरेश प्रजापति र सारंगीमा हरिशरण नेपाली र वर्त गन्धर्व थिए । त्यसैगरी नृत्यतर्फ शारदा सिल्वाल, सवनम सिल्वाल, रेखा कटवाल, माया थापा, सुशिला थापा, गीता घिमिरे थापा, सुर्या कार्की, दिपेश माझी, छलबहादुर थापा, सुजित श्रेष्ठ, सनम खड्गी, नवीन गुरुङ र शेखर घर्ती मगर सहभागी रहेका थिए ।

कार्यक्रम अत्यन्तै सफल र भव्य भएको महाप्रबन्धक राईले बताए । उनले भने- ‘स्टेट भिजिटमा सांस्कृतिक कार्यक्रमका लागि कलाकारको टोली सहभागी हुनु खुशी र गौरवको कुरा हो । दुई देशका महामहिम राष्ट्रपति सहित बंगलादेशका प्रधानमन्त्री, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको नेपाली कलाकारको प्रस्तुतिलाई सिंगो बंगलादेशले प्रशंसा गर्यो । कलाकार टोली राष्ट्रपतिसँगै नेपाल वायुसेवा निगमको चार्टर फलाइटमा गएका थिए ।’