डा.डिआर को ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक


गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डिआर उपाध्यायले आफ्नो ११ औं उपन्यास कफी लभ बजारमा ल्याएका छन् ।

प्रणय दिवस
को अवसर पारेर आईतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक औपचारिक कार्यक्रममा उपन्यास सार्वजनिक गरिएको हो l समारोहमा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक डा. उपाध्याय, प्रकाशक संस्थाका अध्यक्ष पुष्पराज पौडेल, गायक/सङ्गीतकार सन्तोष श्रेष्ठ, कृतिका सम्पादक डब्बु क्षत्री, साहित्यकार तथा म्युजिक भिडियो निर्देशक हेम प्रभाष, गायक/सङ्गीतकार सागर अधिकारी ‘शरद’ लगायतले पुस्तकको संयुक्त रुपमा बिमोचन गरेका थिए ।

कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह-अवरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ । देहरादुनको दुन विश्वविधालयमा भेटिएका पाँचजना नेपाली विधार्थीहरुबीचको कलेज अध्ययनको क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यासको कथा बुनिएको छ ।

कार्यक्रममा पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवनशैली र वर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेका बताए । गीत लेखनबाट कृतिमान कायम गरेका डा. उपाध्ययको उपन्यास पनि त्यत्तिकै पठनीय भएको भनाई उनले सो कार्यक्रममा राखे ।

अग्रज आख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । समकालिन पुस्तालाई यो उन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र पौढ पुस्ताले आफ्ना कलेजका दिनहरु स्मरण गर्ने पनि उनले बताए । आख्यानकार डि. आर. उपाध्यायले यो पुस्तक लेख्दा आफू २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरुको सँगतमा रही उनीहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । यो पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको र सबै पुस्ता एवम् वर्गको भाव यसमा समेटेको पनि उनले जानकारी गराए ।

पुस्तकको समीक्षा गर्दै कवि हेम प्रभाषले तृतीय पुरुषमा लेखिएको यो उपन्यास सम्बाद शैलीको भएको बताए । उपन्यास पढ्न थालेपछि उपन्यासभित्रका पात्रहरुको यात्रा र उनीहरुबीच अब के होला ? भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने जानकारी गराए ।
यस्तै सङ्गीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै अरु उपन्यास भन्दा यो निकै फरक शैलीमा लेखकले तयार गरेको बताए । पुस्तक पढ्दा आफूलाई एउटा सफल चलचित्र हेरेको महसुस भएको उनले सुनाए ।

गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’ले कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै फरक प्रकृति र शैलीका गीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली भएको बताए । यसैगरी पुस्तकका सम्पादक, गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेर भन्दा आधा उमेरमा झरेर आख्यानकार डि. आर. उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए । घटना, स्थान, परिवेश र सम्वादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने पनि उनले बताए । प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही कितावमा परेको महसुस पाठकलाई हुने जिकिर गरे ।

शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योति पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् । २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैया रहेको छ ।