राष्ट्र र राष्ट्रियताप्रति समर्पित गीत ‘नेपाली हौं गर्व गर्छौं’

नेपाली हौं गर्व गर्छौं इमान्दारका सन्तान भई बोलको राष्ट्रिय भावको गीतको लिरिकल भिडियो केही समय अगाडि मात्रै सार्वजनिक भएको छ । गीतकार बागधन दुमी राईको शब्दरचना, सन्तोष दुमीको सङ्गीत र राजु कार्कीको सङ्गीत संयोजन रहेको यस गीतमा मनिषा राई, प्रेमकला राई, सिडी बिजय अधिकारी र स्वयं सन्तोष दुमीले स्वर दिएका छन् । गीत किङ स्टुडियो अनामनगरमा रेकर्डिष्ट सुरेस राईले रेकर्ड गरेका हुन् भने भिडियो SANTOSH DUMEE OFFICIAL CHANNEL बाट सार्वजनिक गरिएको छ ।

भिडियो जस्केलो कृयशनका भिडियो सम्पादक धन खालिङले बनाएका हुन् । औपचारिक अनौपचारिक कार्यक्रमहरुमा स्वागत गीतको रुपमा प्रस्तुत गर्न अत्यन्तै उपयुक्त रहेको यो गीतलाई अब्बल किसिमको राष्ट्रिय गीत भन्न सकिने कुरा सङ्गीतकार सन्तोष दुमीले बताए ।

विगत दुई दशकदेखि दक्षिण कोरियालाई कर्मथलो बनाउँदै आएका गीतकार बागधन दुमी राईले यस राष्ट्रिय गीतको माध्यमबाट नेपाललाई स्वर्गको रूपमा चित्रण गरेका छन् भने संसारको सबैभन्दा उच्च शिखर यहीं रहेको र विश्वमा वीरताको ईतिहास कायम रहेको कुरा सरल भाषामा उल्लेख गरेका छन् । बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक सौन्दर्यले सम्पन्न अनि अनेकतामा एकता रहेको नेपालमा देउडा, रोधी, साकेला, पालाम लगायतका विविध साँस्कृतिक परम्पराहरु रहेको कुरा समेत यस गीतले वयान गरेको छ  ।