स्वाभिमान र अखण्डताको विगुल फुक्दै गीतकार सुमन पण्डित

-तुलसी गिरी ‘भावुक’


सुदूरपश्चिमको लिपुलेक क्षेत्रमा नेपाली भू-भाग मिचेर दादागिरी शैलीमा इण्डियाले सडक निर्माण गरेपछि नेपाल-भारत सिमा विवाद चर्किंदै गएको छ । केही समय पहिला इण्डियाले प्रकाशित गरेको नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा र  कालापानी इण्डियातर्फ भएको देखाइएको थियो । त्यसको बिरोध हुँदाहुँदै इण्डियाले नेपाली भूमि मिचेर बनाएको सडक उद्घाटन नै गरेपछि नेपालतर्फबाट पनि चर्को बिरोध भएको थियो भने सो भू-भाग आफ्नै हो भनेर नेपालले नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । इण्डियाले नेपालको सुस्ता क्षेत्रमा मात्र ५ सय स्क्वायर किलोमिटर र मेचीदेखि महाकाली सम्ममा कूल १ हजार ३ सय स्क्वायर किलोमिटर भू-भाग मिचेको कुरा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बताउँदै आएका छन् l तर यस बारेमा सरकार भने चुईंक्क सम्म बोलेको छैन l यही सिमाको विषयलाई लिएर गायक लव कुमार भट्टले नयाँ गीत हाम्रो धर्ती सार्वजनिक गरेका छन् । लामो समयदेखि गीत-सङ्गीतमा सक्रिय रहेका गायक लवकुमार सञ्चारकर्मी समेत हुन् ।

विशेषगरी वियोगान्त र राष्ट्रिय भावका गीत रचनामा रमाउने गीतकार सुमन पण्डितको शब्द एवं विश्वास नेपालको सङ्गीत रहेको यस गीतमा लव कुमार भट्टलाई सुनिला गुरुङ, ज्योतिप्रकाश र विश्वास नेपालले समेत स्वरमा साथ दिएका छन्  भने गीतमा विश्वास नेपालकै सङ्गीत संयोजन रहेको छ । गीतकार पण्डित पनि नेपाली रङ्ग क्षेत्रका एक जानेमाने क्रियाशील पत्रकार हुन् l गीतमा महेश विक्रम पाण्डेको रेकर्डिङ एवं मिक्सिङ रहेको छ ।

यस गीतमा छिमेकीले सिमा अतिक्रमण गरेको विषयलाई जस्ताको तस्तै उतारिएको छ । गीतमा सुस्ता, कालापानी र  लिपुलेकका भू-भागहरु नेपालकै हुन् र ती भूमि फिर्ता ल्याउनका लागि नेपालीहरु एकजुट हुनुपर्छ भन्ने भाव समेटिएको छ । राती सुत्दा नेपाल भएको भूमि विहान उठ्दा भारतमा परेको यथार्थ पीडा र गोर्खालीको स्वाभिमानमाथि गरिएको आक्रमणका विषयलाई गीतको शब्दमार्फत् व्यक्त गरिएको छ ।

SUBSCRIBE 👉

यस गीतको म्यूजिक भिडियोमा गायक लव कुमार भट्ट, गायिका सुनिला गुरुङ, गायक दीपसागर थापा, गायक मौसम गुरुङ, गायक ज्योतिप्रकाश, गायक विश्वास नेपाल, पत्रकार एवं गीतकार सुमन पण्डित, गायिका विनिता गुरुङ, गायिका पूजा गुरुङ लगायतको अभिनय रहेको छ । भिडियोको छायाङ्कन एवं निर्देशन सुमन पण्डितको रहेको छ भने भिडियो महेश विक्रम पाण्डेको सम्पादमा तयार भएको हो ।

SUBSCRIBE 👉