अस्ताए एउटा कालखण्डका अमर सर्जक

-तुलसी गिरी ‘भावुक’


अग्रज गीतकार रत्न सम्शेर थापाले यो संसार त्यागेका छन् l आज बिहान साँढे ११ बजे उपचारकै क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा उनको आत्माले देह त्याग गरेको हो l नेपाली सङ्गीत क्षेत्रका अघिल्लो पुस्ताका सर्जकहरु मध्येका एक गीतकार थापा काठमाण्डौको कमलपोखरीस्थित आफ्नो पुर्ख्यौली घरमा बस्दै आएका थिए l केही महिना अघिदेखि सिकिस्त हुँदै गएका ८३ बर्षीय थापाले अन्ततः भौतिक रुपमा संसारबाट विदा लिएका छन् l ए कान्छा ठट्टैमा, गोरेटो त्यो गाउँको, बिछोडको पीडा, घुम्तीमा नआऊ है, पन्छीमा राम्रो डाँफे, जाग जाग लम्क हे, स्वर्गकी रानी’ लगायत दर्जनौं कालजयी गीतका सर्जक थापा साहित्यका विविध विधामा कलम चलाउने गर्दथे l

धुनमा शब्द लेख्न सक्ने अद्भुत क्षमता भएका गीतकार थापाको यो उमेरमा पनि सबैलाई चकित पार्ने किसिमको स्मरणशक्ति थियो l राजधानीमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदा दशकौं अघिका ऐतिहासिक र रमाईला घटनाहरु तिथिमिति सहित बेलिबिस्तार लाउने गरेका थापा आफ्ना धेरै कविता र मुक्तक पनि खररै सुनाउथे l स्पष्टवक्ता, निडर, स्वाभिमानी र हठी स्वभावका उनमा चिप्लो घसेर बोल्ने बानी फिटिक्कै थिएन l बिभिन्न प्रकारका राष्ट्रिय पुरस्कार तथा सम्मानहरुबाट सम्मानित साहित्यकार थापाको देह यो संसारमा नरहे पनि यो धर्तीमा नेपाली भाषीहरुको अस्तित्व रहे सम्म उनी जीवित रहिरहने छन् l  { तस्बीर : वरिष्ठ गीतकार एस्पी कोइरालाको फेसबुक वालबाट }

SUBSCRIBE 👉