कोरोना विरुद्ध एकै शीर्षक र एकै भावमा दुई भिडियो

तुलसी गिरी ‘भावुक’


संयोगबस दुई सर्जक सचिन सिंह र ज्योतिप्रकाशले एक दिनको फरकमा लगभग एकै प्रकारको भाव र टाइटलको गीत सार्वजनिक गरेका छन् l दुबै सर्जकले गीतमा आफ्नो व्यक्तिगत चाहनाहरुलाई एकातिर पन्छाएर घरपरिवार, रातदिन र भोकतिर्खा नभनी कोरोना विरुद्धमा आम जनताका लागि खटिनेहरुलाई ‘सलाम’ गरेका छन् l

लोकप्रिय सर्जक / कलाकार सचिन सिंहले यही बैशाख १५ गते आफ्नै शब्द तथा सङ्गीतमा कोरोना विरुद्धको गीत सलाम को भिडियो सम्बन्ध नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् l गोपाल रसाईलीको सङ्गीत संयोजन र किरण गोर्खाको मिक्सिङ / माष्टरिङ रहेको यो गीतको भिडियो आदर थापाको सम्पादनमा निर्माण भएको हो l उपलब्ध सहजता र प्रविधिको सदुपयोग गर्दै एक अर्कासँग भेट नै नगराई सर्जक सिंहले गीतमा वरिष्ठदेखि कनिष्ठ सम्मका लगभग ३ दर्जन कलाकारहरुलाई समावेश गराएका छन् l जस अनुसार गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीप श्रेष्ठ, तुलसी घिमिरे, सुनिल थापा, ललित गोले, मिथिला शर्मा, सुरेश कुमार, योगेश्वर अमात्य, एड्रीन प्रधान, थुप्देन भुटिया, विक्रम पराजुली, सुमन कुमार श्रेष्ठ, मदन भुजेल, मेलिना राई, धिरेन शाक्य, नरेश भट्टराई, सुनिल मास्के, करुण थापा, निर्मल शर्मा, स्वयम् सचिन सिंह आदिको स्वर तथा अभिनय रहेको छ l प्रकृति बचाऊँ, विश्व बचाऊँ भन्दै गीतमा कोरोना विरुद्धको लडाइँमा निश्वार्थ भावले अग्र पङ्क्तिमा खटिएका तमाम मान्छेहरुलाई सलाम गरिएको छ l

यसैगरी सर्जक ज्योतिप्रकाशले पनि यही बैशाख १६ गते आफ्नै शब्द तथा सङ्गीतमा कोरोना विशेष गीत सलाम छ को भिडियो सार्वजनिक गरेका छन् l राहुल विश्वकर्माको सङ्गीत संयोजन तथा दीप घतानीको मिक्सिङ रहेको यो गीतमा राज सागर र जीना रसाईलीको सुमधुर स्वर रहेको छ l

सर्जक ज्योतिप्रकाशकै छायाङ्कन र गरव योञ्जन ‘दिलिप’ को सम्पादनमा भिडियो निर्माण भएको हो l गीतमा रातदिन भोकतिर्खा र घामपानी नभनी कोरोना विरुद्धको अभियानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई सलाम गरिएको छ l व्यक्तिगत ईच्छा चाहनाहरुलाई एकातिर राखेर अनेक बाधा – व्यवधान सहँदै जीवनबाटै हरेश खाएका मान्छेहरुलाई मलम पट्टी गर्नेहरु भगवानको अर्को रुप हुन् भनिएको छ l भिडियो सर्जक ज्योतिप्रकाशकै युट्युब च्यानल Jyoti Prakash मा हेर्न सकिन्छ l