सन्देशमूलक लघुचलचित्र ‘बुहारी’

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबै जनाले आ-आफ्नै घरबाट काम गरी सन्देशमूलक लघुचलचित्र ‘बुहारी’ तयार पारिएको छ । यसरी आवद्ध कलाकारले एक अर्कालाई नभेटिकनै बनेको यो नेपालकै पहिलो लघुचलचित्र भएको कुरा निर्देशक पुरुषोत्तम बस्नेतले जानकारी गराएका छन् ।

‘बुहारी’ शीर्षकको यस लघुचलचित्रमा शिरोमणि दवाडी, सङ्गीता बस्याल, सुदर्शन आचार्य, विमला लम्साल, बियान थपलिया, शान्ति महर्जन, मुस्कान वाग्ले, कमला बस्नेत र बालकलाकार रिम्सा कार्कीले अभिनय गरेका छन् । अहिले पनि कतिपय परिवारमा घरको काम बुहारीले मात्र गर्नुपर्ने सन्दर्भ यस लघुचलचित्रमा देखाइएको छ ।

SUBSCRIBE 👉

सबैजना घरमा भएपनि बुहारीले मात्र काम गर्नुपर्ने अवस्था अझै छ भन्ने देखाउन यो लघुचलचित्रको निर्माण गरिएको कुरा निर्देशक पुरुषोत्तम बस्नेतले बताए । आफूले बुहारीलाई धेरै काम लगाउँदा आफ्नी छोरी पनि बुहारी भएर अरुको घरमा गएकी छ भन्ने कुरा बुझ्नु पर्छ भन्ने सन्देश यस लघुचलचित्रले दिने उनले बताए । लकडाउनको समयमा कतिपय काम नभेटेरै पनि गर्न सकिने निर्देशक बस्नेतको भनाई छ ।

अनिल कुमार महर्जनको सम्पादन रहेको ‘बुहारी’ लघुचलचित्रको कास्टिङ डाइरेक्टर वसन्त अधिकारी हुन् । नेसन मिडिया ग्रुप प्रालिद्वारा निर्मित ४ मिनेट ३३ सेकेण्डको यो लघुचलचित्र Nation TV Nepal नामक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

SUBSCRIBE 👉