नीर शाहको राजिनामा स्वीकृत, हरिवंश आचार्य संरक्षकमा नियुक्त

विशिष्ट कलाकार नीर विक्रम शाह { नीर शाह } ले कार्य व्यस्तताका कारण ‘नेपाल चलचित्र कलाकार सङ्घ’ को संरक्षकबाट दिनुभएको राजिनामा सङ्घको मिति २०७६ फागुन २१ गते बुधबारका दिन सङ्घको कार्यालयमा बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको जानकारी प्राप्त भएको छ । उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गरी सङ्घले सो कुरा जानकारी गराएको हो । वैठकले नेपाल ‘चलचित्र कलाकार सङ्घ’ को स्थापनाकालदेखि नै क्रियाशील रही संरक्षक शाहले पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।

साथै उक्त वैठकले सङ्घको विधानको परिच्छेद ५, दफा १८ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गरेको छ । नव नियुक्त संरक्षकको पदावधी वर्तमान कार्यसमितिको कार्यकालसम्म रहने छ । नव नियुक्त संरक्षक हरिवंश आचार्य विगत ४ दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च एवं ठूलो तथा सानो पर्दाका चलचित्रको लेखन, निर्देशन र अभिनयमा निरन्तर क्रियाशील रहँदै आउनुभएको छ ।

नेपाली चलचित्र क्षेत्रको संरक्षण तथा सम्वर्धनमा उल्लेख्य योगदान पुर्याउनुभएका विशिष्ठ सर्जक / कलाकार आचार्य नेपाल चलचित्र कलाकार सङ्घको स्थापनाकालदेखि नै चलचित्र क्षेत्रको उत्थानमा सक्रीय रहँदै आउनुभएको छ । वैठक सङ्घका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको थियो ।

SUBSCRIBE 👉