साँस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने सङ्कल्प

साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का नवनियुक्त अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोक प्यासी राईले संस्थानलाई थप व्यावसायिक र गतिशील बनाउने सङ्कल्प गरेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो संस्थानको जमलस्थित कार्यालयमा मङ्गलबार कार्यभार सम्हाल्दै उनीहरुले नेपाली कला र संस्कृति झल्कने केन्द्रका रुपमा यसलाई विकशित गर्ने बताएका हुन् । अध्यक्ष अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै विदेशी आइपुग्नेबित्तिकै नेपाली संस्कृति कहाँ छ ?  भनेर खोजेमा साँस्कृतिक संस्थानमा आएर हेर्नसक्ने स्थिति निर्माण गर्ने बताए ।

उनले संस्थानको ठूलो हलमा साउण्ड सिस्टम व्यवस्थित गर्ने, सानो हललाई थप व्यवस्थित बनाई व्यावसायिक प्रयोगमा ल्याउने, नाटकका लागि रिहर्सल गर्ने कोठा निर्माण गर्ने, पार्किङस्थललाई व्यवस्थित गर्ने र परिसरमा पानी जम्ने समस्याको समाधान गर्ने लगायतका काममा तत्काल ध्यान दिने जनाए । नेपाल सरकार मन्त्रिपरिषद्को यही पुष १४ गतेको बैठकले उनीहरुलाई चार वर्षका लागि नियुक्त गरेको थियो । अध्यक्ष अधिकारी र महाप्रबन्धक राईलाई संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा र कर्मचारीहरुलेले स्वागत गरेका थिए । राष्ट्रिय जनसाँस्कृतिक महासङ्घको कार्यालय प्रमुख रहेका तेह्रथुम निवासी अधिकारी यसअघि संस्थानको सञ्चालक समिति सदस्य थिए भने ताप्लेजुङका राई सञ्चारकर्मी हुन् ।

यसअघिका अध्यक्ष उद्योग राईको कार्यकाल गत वैशाख २२ र महाप्रबन्धक राजेश थापाको कार्यकाल गत साउन १४ मा सकिएको थियो । सो रिक्ततापछि सञ्चालक समितिको बैठक बस्न नसकेकामा मङ्गलबारै पहिलो बैठक सम्पन्न भई बिभिन्न निर्णयहरु गरिएको छ । सञ्चालक समितिमा एक सदस्यको पद अझै रिक्त छ ।

प्रधानमन्त्रीको निर्देशन

यसैबीच मङ्गलबारै प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी नवनियुक्त अध्यक्ष अधिकारीलाई बधाई दिँदै संस्थालाई थप गतिशील बनाउन निर्देशन दिए । अध्यक्ष अधिकारीले संस्थानलाई प्रधानमन्त्रीको तहबाट प्राथमिकता दिइएकाले आफूहरुले चुनौतीका रुपमा जिम्मेवारीलाई स्वीकारेको बताए । नेपाली नाटक, गीत, सङ्गीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले विसं २०१६ मा राष्ट्रिय नाचघरको निर्माण भएको थियो भने यसको औपचारिक स्थापना २०१८ साल कात्तिक २८ गते भएको थियो ।

नाचघरलाई २०२९ सालसम्म कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग र कहिले प्रसार विभाग अन्तर्गत राखिएको थियो । २०२९ साल असार ५ गते सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत राखिएपछि बिभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन एवं प्रदर्शन गर्न थालिएको हो । संस्थानले धार्मिक, सामाजिक तथा हास्यनाटकका अतिरिक्त गीति नाटक, नृत्य, नाटक, प्रहसन, लोकगीत, आधुनिक गीत, कविता वाचन एवं परम्परागत शास्त्रीय नृत्य तथा लोक नृत्यले भरिपूर्ण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

SUBSCRIBE 👉
SUBSCRIBE 👉