‘पिम नेपाल फिल्म फेष्टिवल’को दोश्रो संस्करण धनगढीमा आयोजना हुने

नेपाली कला संस्कृतिको सम्वर्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवर्धन गर्ने उद्देश्यले सन् २०१८ देखि पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो ‘पिम नेपाल फिल्म फेष्टिवल’ । क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत बिभिन्न यथार्थपरक विषयहरुसंग सम्वन्धित रहेर सचेतना, जानकारी एवं प्रचारका लागि काम गर्ने फिल्म मेकर्सहरुलाई प्रोत्साहन गर्दै आईरहेको यस कार्यक्रमले यस पटकबाट स्थानीय स्तरमा बसेर भाषा, भेषभूषा र संस्कृतिका लागि काम गरिरहेका फिल्म मेकर्सहरुलाई पनि समेट्ने उद्देश्य लिएको कुरा थाहा भएको छ । गतवर्ष काठमाण्डौस्थित भृकुटीमण्डपमा पौष २, ३ र ४ गते भव्य रुपमा सम्पन्न भएको यस कार्यक्रमलाई यसवर्ष प्रदेश नं ७ को राजधानी धनगढीमा मिति २०७६ पौष २४, २५ र २६ गते आयोजना गरिने कुरा समेत आयोजकले जानकारी गराएका छन् ।

३ दिनसम्म चल्ने उक्त कार्यक्रममा नेपाली कथानक चलचित्र, वृत्तचित्र र लघुचलचित्रको समेत प्रदर्शनी गरिने जानकारी गराईएको छ । महोत्सवमा नेपाली कथानक चलचित्रतर्फ हास्य र समाजिक गरी २ विधाका लागि निर्देशक, लेखक र नायक – नायिकाको प्रतिस्पर्धा हुने छ भने वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिस्पर्धा गराईने छ । जसमा निर्देशन, लेखन ,स्वराङ्कन, छायाङ्कन लगायतका विधाहरु रहने छन् । त्यस्तै लघु चलचित्रतर्फ निर्देशक र नायक – नायिकाको विधामा प्रतिस्पर्धा  हुने र विजेतालाई अवार्ड समेत प्रदान गरिने आयोजकले बताएका  छन् ।

फिल्म मेकर्सहरुलाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र, वृत्तचित्र, लघुचलचित्र निर्माण गर्न प्रोत्साहन गर्दै पर्यटन वर्ष २०२० लाई भव्य रुपमा स्वागत गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास लिईएको कुरा समेत आयोजकले बताएका छन् । पौष २६ गते शनिबार धनगढी रंगशालामा ख्यातिप्राप्त गायक – गायिका र नायक – नायिकाहरुको उपस्थितिमा एक भव्य साङ्गीतिक कर्यक्रमको आयोजनासँगै समारोहको समापन गरिने कुरा संस्थाका अध्यक्ष माधव राज खरेलले बताएका छन् ।