वर्तमान संकट र यसको निकास

डा. डीआर उपाध्याय


संसद् विघटन पछि देशमा एकाएक सडक आन्दोलनको रमिता भैरहेको छ । संसद् विघटनले देश अस्थिरतातर्फ उन्मुख बनेको छ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नागरिक समाज लगायतले आन्दोलन गरिरहेका छन् । यो आन्दोलनमा जनताको त्यति सहभागिता देखिदैन । किनभने जनता राजनीतिक दलसँग असन्तुष्टि छन् । सडकमा उठेको आन्दोलन केवल सत्तामा जान र केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा प्रधानमन्त्री हुन मात्रै आन्दोलन सञ्चालन भइरहेको हो भन्ने जनताको गुनासो छ । आन्दोलनले नयाँ सरकार बन्न सक्ने अवस्था छैन ।

वर्तमान संकटको निकास भनेको चुनाव हो । अब मुलुकमा आन्दोलन गरेर द्वन्द निम्ताउने काम कुनै दलले पनि गर्नु हुँदैन । देशमा विकास समृद्धि र सुशासन कायम गर्नु पर्ने आवश्यकता देखिएको छ । अब सरकारले समाजवादको आधार निर्माण गरि प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिन जरुरी छ । स्थानीय तहदेखि हुने अनियमितता, भ्रष्टाचारको नियन्त्रण गरेर मितव्ययिताका साथ सरकार अगाडि बढ्नु पर्छ । सार्वजनिक खर्चमा भइरहेको वृद्धिदरलाई नियन्त्रण गर्दै सेवा प्रवाह गरी सार्वजनिक खर्च कटौती गर्नु पर्ने आवश्यकता देखिएको छ । प्राविधिक र विज्ञहरूको सेवा स्थानीय तहसम्म प्रवाह हुनेगरी कर्मचारी समायोजन गरिनुपर्छ । सरकारले उच्च तहका पदाधिकारी र जनप्रतिनिधिमूलक निकायमा प्रदान गरिएका सेवा सुविधामा पुनविचार गरी मितव्ययिता कायम गर्ने नीति अगाडि बढाउनु पर्छ । निर्वाचन प्रणालीमा सुधार गरी खर्चिलो, भड्किलो र मतदाता किनबेचलाई नियन्त्रण गर्नुपर्छ । सरकारले जनतामा भएको निराशालाई मेटाउन रोजगारीमूलक विकास आयोजनाका कार्यलाई सञ्चालन गर्न जोड दिनुपर्दछ । दैनिक उपभोग्य वस्तुको अभाव र महँगी हुन नदिन सुपथ मूल्यका पसलहरूका माध्यमबाट दुर्गम ठाउँका जनतालाई भोकमरी र अभाव हुन नदिने गरि स्थानिय तहका सरकारले व्यवस्था गर्नुपर्दछ । कृषि सामग्री, बीउबिजन, कृषि औजार, दुग्धजन्य, खाध्यान्न, औषधिजन्यलगायतका सामग्री स्थानीय तहसम्म विस्तार गरेर सेवा प्रवाहलाई सर्वसुलभ बनाउनुपर्दछ ।

कोरोनाका कारण रोजगारी गुमाएका, रोजगारीको अवसर नपाएका, रोजगारीका लागि विदेश जान बाध्य भएका सबै बेरोजगार एवं गरिब परिवारका लागि स्वरोजगार बन्न स्थानीय तहबाट नै रोजगारीको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले किसानहरूलाई कृषि र पशुपालनमा प्राविधिक सहयोग गर्नु पर्ने आवश्यकता देखिएको छ । स्थानिय तहका वडास्तरमै कृषि र भेटेनरी प्राविधिकहरूको सेवा पुराउनु पर्ने जरुरी छ । हरेक वडास्तरमा स्वास्थ्य उपचार सेवाका लागि डाक्टर, नर्स, स्वास्थ्य प्राविधिक, मातृशिशु सेवा, ल्याब र औषधि वितरणको व्यवस्था भयो भने दुरदराजका जनतालाई ठूलो राहत मिल्ने थियो । अर्को तर्फ सरकारी तथा सामुदायिक क्याम्पसहरूको स्तरोन्नतिमा जोड दिनुपर्दछ । अब मुलुकको आर्थिक विकासलाई अगाडि बढाउनु पर्ने जरुरी छ । देशको प्राकृतिक स्रोत, साधन, जलसम्पदा, वनजंगल, खानी, खनिज आदि क्षेत्रको परिचालन गरी देश विकासमा विशेष जोड दिनुपर्दछ ।