पूर्वी नेपालको लोकसंस्कृति र मौलिक भाषिक स्वाद समेटिएको नयाँ गीत ‘करुवाको पानी’ को भिडिओ सार्वजनिक गरिएको छ । उक्त गीतको लिरिकल भिडिओ जेपिजे इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पूर्वेली लोक लयलाई आधुनिक संगीत संयोजनसँग सन्तुलित रूपमा प्रस्तुत गरिएको यस गीतमा शब्द रचना दीपेन्द्र खड्काको रहेको छ भने स्वर गायिका तपस्या राईको छ । संगीतकार विकास चौधरीले गीतलाई संगीतबद्ध गर्नुभएको हो भने म्युजिक एरेन्ज बुद्ध स्याङ्वाको छ ।
भिडियोको सम्पादन प्रेम शर्मा पौडेलले गर्नुभएको गीतका निर्माता किशोर सुब्बा रहनुभएको छ । सुब्बा नेपाली चलचित्र क्षेत्रका स्थापित निर्माता तथा निर्देशकका रूपमा परिचित हुनुहुन्छ । गीत सरल तर प्रभावकारी ढंगले तयार पारिएको छ, जसले गीतको भावलाई प्रस्ट रूपमा दर्शकसम्म पुर्याउन सहयोग गरेको छ ।
‘करुवाको पानी’ गीतमा पूर्वेली जनजीवन, संस्कृति र भाषिक मिठासलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । यसले विशेषगरी पूर्वी क्षेत्रका दर्शक-श्रोतामाझ आत्मीयता जगाउने अपेक्षा गरिएको छ भने अन्य क्षेत्रका दर्शकलाई पनि पूर्वेली लोक लयप्रति आकर्षित गर्ने विश्वास गरिएको छ । यसअघि पनि जेपिजे इन्टरटेन्मेन्टकै प्रस्तुतिमा गायिका तपस्याको स्वर तथा विकास चौधरीकै संगीतमा ‘टेन्सन भो’ बोलको गीत सार्वजनिक भएको थियो, जसले दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । नयाँ गीत ‘करुवाको पानी’ले पनि त्यस्तै सफलता दोहोर्याउने निर्माण टिमको अपेक्षा छ ।












