–डा. डीआर उपाध्याय
नेकपाभित्रको आन्तरिक बिवाद चुलिदै गएको छ । यदि नेकपामा फुट भयो भने मुलुक गम्भिर संकटमा फस्ने छ । गणतन्त्र, धर्मनिरपेक्षता धरापमा पर्ने छ । २०६२, ०६३ सालका उपलब्धिहरू समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा हुनेछ । यो नै चिन्ताको विषय हो । नेकपाभित्रको अन्तरकलह छिटो समाधान हुनु पर्छ । युग बदलिएको छ, तर जनताको अवस्था बदल्लिएको छैन । मुलुकमा समाजवाद ल्याउनु पर्छ भन्र्ने नेताहरुको कमी छैन । तर यो बिषमा कुनै सुरसार नै छैन । समाजवाद त्यति सजिलो गरी आउँदैन । समाजवादको बाटो त्यति सजिलो छैन । युगले त्यसको नयाँ नेतृत्व खोजेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । संविधानमै समाजवाद लेखिएको छ ।
अब नेताहरूले राजनीतिक क्रान्तिका भाषण गरेर मात्र देश चल्दैन । अव राजनीतिक र तिनका नेताहरुमा आर्थिक क्रान्ति गर्ने दृष्टिकोण चाहिन्छ । भ्रष्टचार शून्य, गरिबी न्यूनीकरण, शिक्षा, स्वस्थ्य र रोजगारीको अधिकार जनजीवनमा लागू नगरी संविधानमा लेखिएको समाजवादको कुनै अर्थ हुने छैन । अव युग सुहाउँदो राजनीतिक चिन्तनको आबश्यकता छ । दूरदृष्टि भएको राजनीतिक नेतृत्वपङ्क्तिको आबश्यकता छ । यो जनताको चाहाना र देशको आवश्यकता हो । यसबारेमा कम्युनिस्ट पार्टीले स्पष्ट नीति अघि सार्नुपर्ने आबश्यकता देखिएको छ ।
देशमा गुट, उपगुटको राजनीति चलेको छ । जुनसुकै पार्टीमा पनि गुटबन्दी छ । यसले समस्या पारेको छ । त्यागी र सोझा नेताहरूको स्थिति हरेक पार्टीभित्र दयनीय छ । समाजवादमा फड्को मार्ने अवसर नेपाल कम्युनिस्ट पार्टीले पाएको छ । यो अवसरलाई सदुपयोग गर्ने कि नगर्ने उसको बिचार हो । यदि कम्युनिस्ट पार्टी विघटन, विचलन र पतन भयो भने फेरि कम्युनिस्ट आन्दोलन नउठन सक्छ । मुलुकको बागडोर समाल्ने ऐतिहासिक जिम्मेवारी पाइरहेको नेपाल कम्युनिस्ट पार्टी गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । बिभिन्न बखेडा झिकेर एकले अर्कालाई गाली गलोज गरेर पार्टी फुटाउने दुस्साहास गरे त्यो आत्मदाह हुनेछ । पार्टीको नीति, विधि, पद्घति अवज्ञा गरेर कुनै पनि नेता अघि बढनु हुदैन । पार्टीको आन्तरिक लोकतन्त्र चुस्त दुरुस्त, व्यवस्थित नहुँदा समस्या आएको हो ।