‘आँखामा गाजल’ बोलको डान्सिङ् शैलीको गीतबाट चर्चामा आएकी मायालु स्वरकी गायिका शर्मिला राई पुनः डान्सिङ् बिटको नयाँ गीत ‘ठुम्का’ को भिडियो लिएर आएकी छिन् l अघिल्लो टिमकै सहकार्यमा यो गीत पनि बजारमा आएको हो l जसमा डी. पी. खनालको शब्द, शंकर थापा ‘स्माइल’ को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ भने ‘आँखामा गाजल’ का निर्देशक विजय रुम्बाले नै ‘ठुम्का’ को भिडियो पनि कोरियोग्राफी र निर्देशन गरेका हुन् l यतिमात्र हैन शर्मिलाको अघिल्लो भिडियोमा सर्वप्रिय मोडल एलिशा राईले नृत्य / अभिनय गरेकी थिईन् भने यसमा पनि एलिशालाई नै देख्न सकिन्छ l एलिशालाई आकाश राई, एलिश राई, आनन्द गुरुङ, हरि अधिकारी आदि कलाकारले साथ दिएका छन् l भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका हुन् भने सहायक निर्देशकको रुपमा निर्देशक विजयलाई नम्रता तामाङले सघाएकी छिन् l यो समाचार लेखिरहँदा शर्मिलाको अघिल्लो भिडियो ‘आँखामा गाजल’ ले २९ लाखको हाराहारीमा भ्युज पाएको छ l यही क्रमले भ्युज बढ्दै जाने हो भने यो भिडियोले उत्साहजनक लोकप्रियता हासिल गर्ने कुरा अनुमान गर्न सकिन्छ l DUSH MUSIC नामक च्यानलबाट रिलिज भएको ‘ठुम्का’ ले पनि ३ लाख भन्दा बढी भ्युज पाईसकेको छ l
पुर्ख्यौली तथा जन्मथलो खोटाङ भएपनि सानैमा चितवन र त्यसपछि काठमाण्डौमा खेले हुर्केकी प्रतिभा शर्मिला राईले लगभग एकबर्ष अघि अल्बिन थापा मगरको शब्द/सङ्गीत रहेको आधुनिक गीत ‘संसारकै नमूना बनोस् हाम्रो माया’ पहिलोपटक रेकर्ड गरेकी थिईन् l युगल स्वरको यस गीतमा उनलाई गीतकार तथा सङ्गीतकार अल्बिनले नै साथ दिएका थिए l भिडियो नबनेका कारण सो गीत आशातित रुपमा श्रोतामाझ पुग्न नसके पनि केही महिना अघि रिलिज भएको ‘आँखामा गाजल’ को भिडियो हिट भएपछि शर्मिलाको गायन करियरमै यु टर्न आएको हो l
सङ्गीत क्षेत्रमा अगाडि बढ्नका लागि अभिभावकहरुको पनि राम्रो ‘सपोर्ट’ पाईरहेकी शर्मिला आफ्नो परिवारबाट यस क्षेत्रमा लाग्ने एकमात्र कलाकार हुन् l स्कूल पढ़दैदेखि आशालाग्दो प्रतिभाका रुपमा चिनिएकी शर्मिलाले त्यो बेला धेरै पुरस्कारहरु समेत जितेकी थिईन् l उनले मनोजराजसँग लगभग १ वर्ष शाश्त्रीय सङ्गीत सिकेकी छिन् l यहाँसम्म आईपुग्नका लागि सङ्गीतकर्मी विजय रुम्बाको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको कुरा उनले बताएकी छिन् l
Video Link