नेपालमै हालसम्मको सबैभन्दा ठूलो राशी रु. ५० लाख प्रथम पुरस्कार भएको लोक गायनमा आधारित रियालिटी शो ‘नेपाल लोक स्टार’ को अडिशन भोलिबाट सुरु हुँदै छ l जसका लागि कार्यक्रम निर्देशक सुरेश पौडेल, निर्णायकहरु जयनन्द लामा, बि. बि. अनुरागी, रामजी खाँड र सुनिता दुलाल, कार्यक्रमका सङ्गीत निर्देशक नरहरि प्रेमी, कार्यक्रम उद्घोषक शुभेक्षा खड्का र अशोक धिताल, आयोजक कमिटिका अन्य सदस्य तथा प्राविधिक गरी ७२ जनाको टोली केहीदिन अघि नै धनगढी पुगिसकेको छ l अडिशनको लागि सम्पूर्ण तयारी पूरा भएको कुरा धनगढीबाट नरहरि प्रेमीले जानकारी गराएका छन् l प्रेमीका अनुसार प्रदेश ७ अन्तर्गत भोलि धनगढीको कैलाली बहुमुखी क्याम्पसमा पहिलो चरणको प्रथम अडिशन सुरु हुने छ l
आयोजक संस्था ‘चाहना मिडिया प्रा. लि.’ का अध्यक्ष सहदेव कोईरालाका अनुसार प्रदेश ६ अन्तर्गत फागुन २० गते सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयमा, प्रदेश ५ अन्तर्गत फागुन २५ गते बुटवलको एभरेष्ट सेकेण्डरी स्कूलमा, प्रदेश ४ अन्तर्गत चैत २ गते पोखराको सिमलचौरस्थित जनप्रिय उच्च माविमा, प्रदेश १ अन्तर्गत चैत ११ गते ईंटहरिको पिसजोन हायर सेकेण्डरी स्कूलमा, प्रदेश २ अन्तर्गत चैत १६ गते जनकपुरमा र प्रदेश ३ अन्तर्गत चैत २३ गते काठमाण्डौको मिनभवनस्थित इङ्गलिस प्रिरपरेटोरी स्कूलमा पहिलो चरणका अडिशनहरु हुने छन् l प्रतिस्पर्धामा भाग लिन चाहने गायक-गायिकाहरुले सातै प्रदेशका ९५ एफएम रेडियो मार्फत र चाहना मिडियाको एप्स मार्फत समेत फारम भर्न सक्ने व्यवस्था गरिएको छ भने छुटेकाहरुले आयोजनास्थलमै समेत फारम भर्न सक्ने छन् l फारम भरेर पनि विशेष कारणवश अडिशनमा सहभागी हुन नसकेका वा आफ्नो प्रदेशमा फारम भर्न छुटेका प्रतिस्पर्धीहरुले समेत अर्को प्रदेशमा गएर फारम भर्न र सहभागिता जनाउन सक्ने छन् l प्रतिस्पर्धामा द्वित्तीय हुनेले रु. २५ लाख र तृतीय हुनेले रु. १० लाख प्राप्त गर्ने छन् l
यो कार्यक्रम आगामी जेठ १७ देखि हरेक साताको शनिबार र आईतबार २ दिन राती ८:३० देखि ९:३० एपीवान टेलिभिजनबाट प्रसारण हुने छ भने फाइनल सम्म पुग्दा कार्यक्रम कूल ३१ भागको हुने अनुमान गरिएको छ l प्रतिस्पर्धीहरुमा उमेरको कुनै प्रकारको सिमा तोकिएको छैन l नेपालमा प्रचलित सबै भाषा र भाकाका गीत गाउन सक्ने छन् l जसको निर्णयमा सहजताका लागि हरेक प्रदेशका अडिशनमा स्थानीय सङ्गीत तथा संस्कृति विज्ञलाई समेत अतिथि निर्णायकको रुपमा सहभागी गराइने छ l अडिशन फारम शुल्क रु. १ हजार तोकिएको भएपनि प्रतिभा भएका तर अति विपन्न कलाकारहरुलाई विपन्नताको प्रमाण लिएर आएमा अवसरबाट वन्चित नगराईने कुरा आयोजकले जानकारी गराएका छन् l