ईटहरी/ मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित बलियामा रहेको गोकुलम रिसोर्टमा भर्खरै एउटा उडान बन्द गरेको हवाइजहाज ल्याइएको छ । बिहिबार राती राजधानीबाट लोरिमा ल्याइएको उक्त्त जहाजलाई म्युजिमको रूपमा विकास गर्न लागेको संचालक गिरिश डंगोलले जानकारी दिए । पर्यटक भित्र्याउने मुख्य उद्देश्य सहित दुर्लभ बस्तुहरुलाई रिसोर्टमा राखेर पुरातात्विक चिजहरुको महत्व तथा ज्ञान दिनेगरी संचालन गर्न लागिएको कुरा संचालक डंगोलले जानकारी दिएका छन् । काठमाडौँ र धनगढीपछि अब पूर्व मोरङको सुन्दरहरैंचा अवस्थित गोकुलम रिसोर्टमा हवाइजहाज म्युजियम संचालन हुने भएको हो
हवाईजहाज म्युजियमलाई दशैँ अगाडि नै संचालनमा ल्याउनेगरी तयारी भैरहेको छ । प्लेन चढेको जस्तै आनन्द आउनेगरी टिकट, एयरहोस्टेज र पाइलटको व्यवस्था गरिने र प्लेनभित्र बसेर प्लेन सम्बन्धी डकुमेन्ट्री समेत हेर्न पाईने बताइएको छ । । पछिल्लो समयमा पूर्वमा नभएका १० अनौठा बस्तुहरुलाई गोकुलाममा सजाउने मुख्य योजनासंगै हाल रिसोर्टमा पानीजहाज, ताजमहल, आइफिल टावर, धरहराको नमुना टावर, बोटिङ लगायतका बस्तुहरु देख्न तथा भरपुर आनन्द लिन सकिने छ ।
निकट भविष्यमै मलेसियाको टुईन टावर, युएईमा रहेको बुजखलिफा टावर लगायतका नमूना बनाउने र ४० सिटको हेलिकप्टर समेत भित्र्याउने योजना रहेको संचालकले जानकारी दिएका छन् । वि सं २०६७ सालबाट निर्माण थालिएको गोकुलम रिसोर्ट विगत ३ बर्ष देखि संचालनमा छ । छोटो समयमा रिसोर्टले निकै लोकप्रियता पाउँदै गएको छ । प्राकृतिक हरियालीसंगै मनोरम दृश्य तथा विभिन्न सेवा सुबिधा सहित संचालित उक्त रिसोर्टमा अब म्युजियम समेत देख्न पाइने भएको हो ।