राष्ट्रिय नाचघरद्वारा प्रत्येक महिनाको दोस्रो बिहीबार आयोजना हुँदै आईरहेको कार्यक्रम ‘वाद्य वन्दना’ अन्तर्गत यसपटक धन बहादुर गुरुङले सहनाई र बाँसुरीको प्रस्तुति दिएका छन् l कार्यक्रम राष्ट्रिय नाचघरको मिनी हलमा सम्पन्न भएको थियो l प्रसिद्ध सहनाई तथा बाँसुरीवादक धन बहादुरले सो कार्यक्रममा सहनाई र बाँसुरीमा अलग अलग राग धुन, लोकप्रिय गीत ‘फूलको थुँगा’ र खैंजडीका साथमा बाँसुरीमा कौरा लोकधुन प्रस्तुत गरेका थिए l कलाकार गुरुङलाई तबलामा मनोज गौतम, विद्युतीय गितारमा अनिल धिताल, मादल र धिमेमा पारसमणि सुवेदी र बाँसुरीमा उनकै विद्यार्थीहरु कर्मा अंशु, कृष्ण गुरुङ, प्रवीण रसाईली, सुषमा चौधरी, अम्बिका कार्की र दुर्गा लामा साथै खैंजडीमा तमू गुरुङ कलाकार संघका कलाकारहरुले साथ दिएका थिए l समारोहमा गुरुङ कलाकार संघले उनलाई गुरुङ पहिरन र हजार हजारका नोटको माला लगाएर सम्मान गरेको थियो l
गोर्खा जिल्ला, अर्मी-३ स्थाई बसोबास भएका धन बहादुरले इन्दिरा कलानिधि संगीत विद्यालयमा जीवन आलेसँग बाँसुरी सिकेका हुन् भने सहनाईको ज्ञान उनले वनारसमा सुनिल प्रसन्नाबाट लिएका थिए l इलाहावादबाट बाँसुरीमा स्नातक गरेका धन बहादुरले विश्व प्रसिद्ध भारतीय बाँसुरीवादक हरि प्रसाद चौरासियासँग माष्टर्सको क्लास लिएका थिए l हाल रेकर्दिंग स्टुडियोहरुमा सहनाई र बाँसुरीवादनमा व्यस्त रहँदै आएका उनी राजधानीका केही इन्स्टिच्युटहरुमा सहनाई र बाँसुरीवादन सिकाउँदै पनि आईरहेका छन् l स्वदेश तथा विदेशमा गरी बाँसुरी तथा सहनाईवादनका सयौं कार्यकर्म सम्पन्न गरिसकेका कलाकार गुरुङले आफ्नै दाइसँग मिलेर स्थापना गरेको बाँसुरी उत्पादन गर्ने कम्पनी ‘गुरुङ फ्ल्युट’ ले स्वदेश तथा विदेशमा बाँसुरी विक्री वितरण समेत गर्दै आईरहेको छ l