हरेक महिनाको दोस्रो बिहीबार आयोजना गरिंदै आएको कार्यक्रम अन्तर्गत राष्ट्रिय नाचघरले यसपटक सितारवादिका सीतामैया राजचलको एकल सितारवादन कार्यक्रम ‘वाद्य वन्दना’ प्रस्तुत गरेको छ l जमलस्थित राष्ट्रिय नाचघरको मिनी हलमा सम्पन्न सो कार्यक्रममा सितारवादिका सीतामैयाले ‘द फ्ल्यास ब्याक, रोज गार्डेन, अर्केष्ट्रा कम्पोजिशन, फ्युजन गरिएको वसन्त धुन, ज्याज राग फ्युजन, द हिडन लभ र नट्टी माइण्ड’ गरी ७ धुन प्रस्तुत गरेकी थिईन् l कार्यक्रममा राष्ट्रिय नाचघर संचालक समितिका अध्यक्ष उद्योग राई, नाचघरका महाप्रवन्धक राजेश थापा, वरिष्ठ सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मी, वरिष्ठ संगीतज्ञ धन बहादुर गोपाली, वरिष्ठ लोक गायक रामेश, नाचघरका नाट्य विभाग प्रमुख प्रभाकर देव शर्मा लगायतको उपस्थिति रहेको थियो l सो एकल सितारवादन कार्यक्रममा सितामैयालाई तबलामा नरेश प्रजापतिले, ढोलक, खि र मादलमा दीपेन्द्र बज्राचार्यले, अक्टोप्याडमा भागिरथले, बाँसुरीमा दुर्गा प्रसाद खतिवडाले, सहनाईमा धन बहादुर गुरुङले, किबोर्डमा रोहित सुवेदीले र बेश गितारमा आकाश गोर्खालीले साथ दिएका थिए भने अतिथि वाद्यवादकका रुपमा ज्याज गितार सुदेश श्रेष्ठ र तबला प्रितम राईले बजाएका थिए l यसैगरी अर्केष्ट्रा धुनमा शिला विष्ट, विपिन घिमिरे, दीपेन्द्र बज्राचार्य र प्रितम राईले साथ दिएका थिए l कार्यक्रम उद्योग राईको सभापतित्व र डा. ध्रुवेशचन्द्र रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l समारोहमा प्रमुख अतिथिको आसनबाट डा. रेग्मीले नाचघरमा राजेश थापा महाप्रवन्धक भएदेखि जुन प्रकारको उत्साहजनक गतिविधिहरु भईरहेका छन् विगतमा त्यस्तो आफूले कहिल्यै नदेखेको धारणा राखेका थिए l डा. रेग्मीले अगाडि भने-‘मुखले बोल्दैमा कोहीपनि प्रगतिशील हुँदैन l वास्तविक प्रगतिशील काम महाप्रवन्धक राजेश थापाले गरिरहनुभएको छ l’ रविन्द्र भारतीय युनिभर्सिटीबाट सितारवादन सिकेकी सितामैयाले प्रसिद्ध सङ्गीतकार/एरेन्जर जुगल डंगोलको एरेन्जमेन्टमा ‘तकिंग स्त्रिन्ग्स’ र ‘जर्नी अन फ्रिट्स’ नामका सितार धुनका २ एल्बम प्रकाशन गरिसकेकी छिन् l