–गङ्गा अभिलाषी (कोलोराडो, अमेरिका)
सपना देख्नु मानवीय स्वभाव हो। तर त्यही सपना पूरा गर्ने अभिलाषाले मानिसलाई कहिलेकाहीँ जीवन र मृत्युको दोसाँधमा पुर्याउँछ। विशेषगरी अमेरिकामा उज्ज्वल भविष्यको खोजीमा अवैध र जोखिमपूर्ण बाटो रोज्ने आप्रवासीहरूको यात्रा अनेकौँ पीडा, सङ्घर्ष र अनिश्चितताले भरिएको हुन्छ। यही यथार्थलाई कथाको केन्द्रमा राखेर लेखिएको उपन्यास हो, डा. चन्द्र गिरीको ‘डङ्की : सपनाको कालबाटो’।
साहित्यिक यात्राका क्रममा वन विज्ञान तथा विश्वव्यापी म्यान्ग्रोभ नक्साङ्कन र अनुगमनका क्षेत्रमा परिचित अनुसन्धानकर्ता एवं साहित्यकार डा. चन्द्र गिरीसँग परिचित हुने सुअवसर पाएकी थिएँ। खोटाङको चिमचिममा वि.सं. २०१८ सालमा जन्मनुभएका उहाँ हाल अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्नुहुन्छ। वैज्ञानिक अनुसन्धानसँगै नेपाली साहित्यमा पनि उहाँको सक्रिय उपस्थिति रहेको छ। उहाँको पहिलो नेपाली कृति ‘संसारको सेरोफेरो’ यात्रा संस्मरण हो।
वि.सं. २०८१ सालको माघ महिनामा ओहायोको साहित्यिक यात्राका क्रममा उक्त पुस्तक सप्रेम उपहार पाएकी थिएँ। विश्वका १२६ देशको यात्रानुभव समेटिएको यो कृतिले पाठकलाई विभिन्न भूगोल, संस्कृति र समाजसँग परिचित गराउँछ। त्यसैगरी, उहाँको आत्मकथात्मक कृति ‘मैले नदेखेको सपना’ कोलोराडोमा आयोजित अनेसासको नवौँ साहित्यिक गोष्ठीका अवसरमा प्राप्त गरेकी थिएँ। कोरोना महामारीका समयमा लेखिएको यस कृतिमा लेखकले आफ्नो जीवनका उकाली–ओराली, दुःख–सुख, सङ्घर्ष र उपलब्धिका अनुभवहरू आत्मीय ढङ्गले प्रस्तुत गर्नुभएको छ। यी दुई कृतिपछि प्रकाशित ‘डङ्की’ उहाँको तेस्रो नेपाली पुस्तक हो।
वि.सं. २०८३ सालको असार महिनामा नेपालमा मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार कृष्ण धरावासीबाट यसको लोकार्पण भएको थियो। ‘मैले नदेखेको सपना’ पढ्दै गर्दा साउन महिनामा कुरियरमार्फत ‘डङ्की’ पनि सप्रेम उपहार प्राप्त भयो। त्यसपछि युट्युबमा यस उपन्यासको श्रव्य प्रस्तुति सुन्ने अवसरसमेत मिल्यो। कृतिले मनमा पारेको प्रभाव र जगाएका प्रश्नहरूले केही लेख्न प्रेरित गरे। सपनाको खोजीमा जोखिमपूर्ण यात्रा पुस्तकको शीर्षक ‘डङ्की’ ले नै सुरुमा पाठकको ध्यान आकर्षित गर्छ। शीर्षकसँगै राखिएको ‘सपनाको कालबाटो’ भन्ने उपशीर्षकले यसको विषयवस्तुतर्फ सङ्केत गर्छ। उज्ज्वल भविष्यको आशामा रोजिएको बाटो कतिसम्म कठिन, अनिश्चित र त्रासदीपूर्ण हुन सक्छ भन्ने कुरा उपन्यासले विस्तारै उद्घाटित गर्दै जान्छ।
अवैध बाटो हुँदै अमेरिका प्रवेश गर्ने नेपालीहरूको सङ्घर्ष र पीडालाई विषय बनाएर नेपाली साहित्यमा यसअघि पनि कृतिहरू लेखिएका छन्। कृष्ण धरावासीको ‘तल्लो बाटो’ र पदम विश्वकर्माको ‘पाताल’ यस सन्दर्भमा उल्लेखनीय उपन्यास हुन्। यी दुवै कृतिसँगै डा. गिरीको ‘डङ्की’ पनि पढ्ने अवसर पाएकाले विषयगत समानता र प्रस्तुतिका भिन्न पक्षहरूबारे सोच्न प्रेरित भएँ। यी कृतिहरूले अमेरिकालाई सपनाको गन्तव्य बनाएका मानिसहरूको जोखिमपूर्ण यात्रालाई साहित्यिक अभिव्यक्ति दिएका छन्। दलालहरूको प्रलोभन, आर्थिक शोषण, अनिश्चित भविष्य, पारिवारिक विछोड र जीवनमरणको सङ्घर्ष यस्ता यात्राका साझा पीडा हुन्।
अमेरिका पुगेर समृद्ध जीवन बिताउने आशामा कतिपय मानिसहरू ठूलो धनराशि खर्च गर्न तयार हुन्छन्। तर उनीहरूले रोजेको बाटो सजिलो हुँदैन। यात्राका क्रममा भोग्नुपर्ने भोक, प्यास, थकान, भय, असुरक्षा र मानवीय शोषणका घटनाले उनीहरूको सपनालाई पटकपटक चुनौती दिन्छन्। यस्ता कठिनाइबीच पनि गन्तव्यमा पुग्ने आशाले उनीहरूलाई अघि बढाइरहन्छ। ‘डङ्की’ ले यस्तै यात्राको बाहिरी कठिनाइ मात्र होइन, त्यससँग जोडिएका भावनात्मक पीडा र मानवीय सम्बन्धलाई पनि कथाको महत्त्वपूर्ण हिस्सा बनाएको छ।
पशुपतिको सङ्घर्ष र यात्राका सहयात्रीहरू उपन्यासका मुख्य पात्र हुन्, इलामको सलकपुर निवासी शिक्षक पशुपति। राम्रो भविष्यको खोजीमा जोखिमपूर्ण यात्रा रोजेका पशुपतिमार्फत लेखकले नेपाली आप्रवासीका सपना, विवशता र सङ्घर्षलाई प्रस्तुत गरेका छन्। यात्राका क्रममा पशुपतिले विभिन्न देशका मानिसहरू भेट्छन्। कोही केही समयका लागि सहयात्री बन्छन् भने कोही यात्राको कुनै मोडमा छुट्टिन्छन्। फरक भाषा, संस्कृति र राष्ट्रियता भएका यी पात्रहरूलाई एउटै कुराले जोडेको छ- सुरक्षित र समृद्ध भविष्यको चाहना।
कथामा एउटा रोचक प्रसङ्ग पशुपतिले पहिले पशुपतिनाथ मन्दिरनजिक हात हेराएका पण्डितसँग यात्राकै क्रममा पुनः भेट हुनु हो। पण्डितले बेलाबेलामा उच्चारण गर्ने ‘जय पशुपतिनाथ’ भन्ने अभिव्यक्तिले कठिन परिस्थितिमा मानिसले आस्था र विश्वासबाट प्राप्त गर्ने मानसिक सहाराको सम्झना गराउँछ। यात्रामा भेटिने भेनेजुएलाकी मारिया र पशुपतिबीच विकसित भावनात्मक सम्बन्ध उपन्यासको अर्को मर्मस्पर्शी पक्ष हो। फरक देश र परिवेशबाट आएका यी दुई पात्रको सम्बन्धले सङ्कटको घडीमा मानवीय आत्मीयता, सहानुभूति र आपसी सहयोगको महत्त्व उजागर गर्छ। यस अर्थमा ‘डङ्की’ कुनै एक नेपाली पुरुषको मात्र कथा होइन। यो आफ्नो देश, परिवार र परिचित संसार छाडेर अनिश्चित भविष्यतर्फ लागेका विभिन्न देशका मानिसहरूको साझा पीडाको कथा हो।
विशेषगरी यात्रामा संलग्न महिला पात्रहरूको उपस्थितिले आप्रवासनको अनुभवलाई थप व्यापक र संवेदनशील बनाएको छ। आप्रवासनको मानवीय र सामाजिक यथार्थ उपन्यासले अवैध आप्रवासनलाई केवल एउटा देशबाट अर्को देशमा पुग्ने यात्राका रूपमा प्रस्तुत गर्दैन। यसले मानिस किन यस्तो जोखिम उठाउन बाध्य हुन्छ, सपनाको मूल्य कति महँगो पर्न सक्छ र यात्राका क्रममा मानवीय सम्बन्ध कसरी निर्माण तथा विघटन हुन्छन् भन्ने प्रश्नहरू पनि उठाउँछ। आर्थिक अवसरको अभाव, विदेशप्रतिको आकर्षण, बिचौलियाहरूको प्रलोभन र सामाजिक दबाबजस्ता पक्षहरूले मानिसलाई जोखिमपूर्ण बाटोतर्फ धकेल्न सक्छन्। उपन्यासमा यस्ता परिस्थितिको प्रभाव पात्रहरूको भोगाइमार्फत अनुभूत गर्न सकिन्छ।
अमेरिकी आप्रवासन नीति र त्यसमा आउने परिवर्तनले आप्रवासीहरूको जीवनमा पार्ने प्रभाव पनि कथामा समेटिएको छ। विशेषगरी डोनाल्ड ट्रम्पको शासनकालमा कागजातविहीन आप्रवासीहरूले सामना गर्नुपरेका चुनौतीहरूको प्रसङ्गले उपन्यासलाई समकालीन सामाजिक तथा राजनीतिक सन्दर्भसँग जोड्छ। यद्यपि, उपन्यासको मूल शक्ति राजनीतिक टिप्पणीमा भन्दा आप्रवासीहरूको मानवीय पीडा प्रस्तुत गर्ने पक्षमा देखिन्छ। उनीहरू केवल सीमा पार गर्न खोजिरहेका मानिस होइनन्; परिवार, सम्बन्ध, स्मृति, आकाङ्क्षा र भविष्यका सपना बोकेका व्यक्ति हुन् भन्ने अनुभूति कथाले गराउँछ। यसैले ‘डङ्की’ पढ्दा केवल यात्राको कठिनाइ होइन, त्यस यात्राको पछाडि लुकेका सामाजिक र मानवीय प्रश्नहरू पनि मनमा उठ्छन्।
कथाशैली र प्रस्तुतिका सबल पक्ष उपन्यासको भाषा सरल, शिष्ट र सहज छ। घटनाहरूलाई पाठकले बुझ्न सक्ने गरी प्रस्तुत गरिएको छ। जोखिमपूर्ण यात्राका क्रममा पात्रहरूले भोगेका कठिनाइ, अनिश्चितता र भावनात्मक उतारचढावले कथालाई मार्मिक बनाएका छन्। विशेषगरी पशुपति र मारियाबीचको भावनात्मक सम्बन्ध, यात्रामा भेटिने विविध पात्रहरू तथा उनीहरूका बेग्लाबेग्लै परिस्थितिले कथालाई केवल साहसिक यात्राको विवरणमा सीमित रहन दिँदैनन्। मानवीय संवेदना यसको महत्त्वपूर्ण आधार बनेको छ।
उपन्यासले पाठकलाई कहिले आशावादी बनाउँछ, कहिले चिन्तित र कहिले दुःखी। पात्रहरूको भविष्यप्रतिको अनिश्चितताले कथामा कौतूहल कायम राख्छ। लेखकले वैज्ञानिक अनुसन्धान र विश्व भ्रमणबाट प्राप्त अनुभवलाई साहित्यिक सिर्जनामा उपयोग गर्ने प्रयास गर्नुभएको देखिन्छ। विभिन्न भूगोल, परिस्थिति र मानवीय व्यवहारबारे उहाँको चासोले उपन्यासको विषय छनोटमा समेत प्रभाव पारेको अनुभूति हुन्छ। केही खट्किएका पक्ष कृतिका सबल पक्षसँगै केही कमजोरी पनि महसुस भए। पहिलो, उपन्यासको ठूलो हिस्सामा पात्रहरूको यात्रा र उनीहरूले भोगेका कठिनाइहरू विस्तृत रूपमा प्रस्तुत गरिएका छन्। तर कथाको समापनतर्फ आइपुग्दा घटनाहरू केही हतारमा टुङ्ग्याइएको अनुभूति हुन्छ। लामो समयसम्म पाठकलाई पात्रहरूसँग जोडेर अघि बढेको कथाले अन्त्यमा उनीहरूको अवस्थाबारे अझ केही जान्ने अपेक्षा जगाउँछ। विशेषगरी पशुपतिको दुःखद नियतिपछि उनकी आमा र छोरीको भविष्यबारे थप जानकारी प्राप्त गर्ने जिज्ञासा रहिरहन्छ। उनीहरू कसरी अमेरिका पुगे, त्यहाँ कस्तो परिस्थितिको सामना गरे र कसको सहयोग पाए भन्ने प्रश्नहरूको केही विस्तार गरिएको भए कथाको भावनात्मक प्रभाव अझ गहिरो हुन सक्थ्यो। यद्यपि, साहित्यिक कृतिले सबै प्रश्नको स्पष्ट उत्तर दिनैपर्छ भन्ने छैन। कतिपय अनुत्तरित प्रश्नले पनि पाठकलाई लामो समयसम्म सोच्न बाध्य बनाउँछन्। तर यस उपन्यासको विस्तृत पूर्वार्धसँग तुलना गर्दा अन्तिम भागको गति केही असन्तुलित लागेको हो।
दोस्रो, पुस्तकको आवरणचित्रमा देखाइएका यात्रुसँग दुईवटा झोला छन्। तर उपन्यासभित्र जोखिमपूर्ण यात्रा गर्ने मानिसले सामान्यतः एउटा मात्र झोला बोक्ने प्रसङ्ग उल्लेख गरिएको छ। त्यसैले आवरणचित्र र कथाको विवरणबीच सानो असङ्गति महसुस भयो। त्यस्तै, मैले प्राप्त गरेको पुस्तकमा मूल्य उल्लेख नभएको पाएँ। पुस्तकको आरम्भमा आमाप्रति व्यक्त गरिएको समर्पणभाव मार्मिक भए पनि त्यसलाई स्पष्ट रूपमा ‘समर्पण’ भनेर छुट्याइएको भए अझ राम्रो हुने थियो। यी पक्षहरू पुस्तकको मूल सन्देशलाई कमजोर बनाउने ठूला त्रुटि नभए पनि आगामी संस्करणमा ध्यान दिन सकिने सम्पादकीय विषय हुन्।
अन्त्यमा डा. चन्द्र गिरीको ‘डङ्की : सपनाको कालबाटो’ जोखिमपूर्ण आप्रवासनको कथा मात्र होइन; सपना, सङ्घर्ष, मानवीय सम्बन्ध र अनिश्चित भविष्यको खोजीमा निस्केका मानिसहरूको साझा अनुभूति समेटिएको उपन्यास हो। यसले उज्ज्वल भविष्यको आशामा आफ्नो जन्मभूमि छाड्ने मानिसहरूले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने प्रश्न पाठकसामु राख्छ। गन्तव्यमा पुग्नु नै सफलताको अन्तिम मापदण्ड हो त ? सपनाको खोजीमा मानिसले गुमाएका सम्बन्ध, सुरक्षा र जीवनका अमूल्य क्षणहरूको मूल्य कसरी आँक्ने ? उपन्यासले यस्ता प्रश्नहरूबारे सोच्न प्रेरित गर्छ।
३२० पृष्ठको यो उपन्यास बुक हिलले प्रकाशन गरेको हो। सरल भाषाशैली, संवेदनशील विषयवस्तु र आप्रवासीहरूको सङ्घर्षमय जीवनको चित्रणका कारण यो कृति पठनीय छ। विशेषगरी वैदेशिक रोजगारी, आप्रवासन र मानव सङ्घर्षका कथामा रुचि राख्ने पाठकका लागि यसले महत्त्वपूर्ण पाठकीय अनुभव प्रदान गर्न सक्छ। वैज्ञानिक अनुसन्धान, विश्व भ्रमण र साहित्यिक सिर्जनालाई सँगसँगै अघि बढाउनुभएका डा. चन्द्र गिरीले यस उपन्यासमार्फत नेपाली साहित्यमा आप्रवासनको एउटा संवेदनशील पक्षलाई प्रस्तुत गर्नुभएको छ। ‘डङ्की’ ले मलाई एउटा गम्भीर अनुभूति गरायो-मानिसलाई आफ्नो जन्मभूमिबाट टाढा पुर्याउने शक्ति केवल अभाव वा बाध्यता मात्र होइन, सपनाप्रतिको गहिरो विश्वास पनि हो। तर कहिलेकाहीँ त्यही सपनासम्म पुग्ने बाटो जीवनकै सबैभन्दा कठिन परीक्षा बनिदिन्छ। यस्तो मर्मस्पर्शी विषयलाई साहित्यिक अभिव्यक्ति दिन सफल हुनुभएका स्रष्टा डा. चन्द्र गिरीलाई हार्दिक बधाई तथा आगामी सिर्जनात्मक यात्राका लागि शुभकामना।













