गीतकार सङ्घको १७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

-तुलसी गिरी ‘भावुक’

गीतकार सङ्घ नेपालको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘सम्मान तथा पुरस्कार वितरण समारोह एवं सांस्कृतिक कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवं सम्मानित गीतकार किरण खरेलको प्रमुख आतिथ्यमा भृकुटीमण्डपस्थित पुलिस क्लबको हलमा आयोजित सो समारोहमा प्रतिष्ठित गीतकार नीर शाहलाई रु. १ लाख ५१ हजार नगद सहित ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०८२’ अर्पण गरियो भने ‘डायस्पोरा गीतकार सम्मान गीतकार सङ्घ नेपाल-२०८२’ बाट  रु.१५ हजार नगद सहित गीतकार नीलम आङबुहाङ राई र ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान -२०८२’ बाट लोहोरुङ राई भाषासेवी नईन्द्र लोहोरुङ राई रु. २५ हजार २ सय ५२ नगद सहित सम्मानित भएका छन्  ।

समारोहमा ‘हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान गीतकार सङ्घ नेपाल- २०८२’ बाट गीतकार अरुण तिवारी र गीतकार सुशीला पौडेललाई जनही रु. १५ हजार नगद सहित सम्मान गरिएको छ । यसै वर्षबाट सङ्घले सुरू गरेको ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान’ बाट हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल नगद रु. ५ हजार ५ सय २५ सहित सम्मानित भएका छन् ।  त्यसैगरी, ‘भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार गीतकार सङ्घ नेपाल’ का लागि छनोट भएका उत्कृष्ट दश गीतबाट  गीतकारद्वय डम्बर यक्सोको ‘म तिम्रो नजरमा’ र प्रवल विष्टको ‘भुल्न सकिनँ’ दुई गीत प्रथम भएका छन् । दुबै गीतका सर्जकलाई एकमुष्ठ नगर रु. ५७ हजार सहित पुरस्कृत गरिएको थियो । अन्तिम प्रतिस्पर्धाका लागि डम्बर यक्सोको म त तिम्रो नजरमा, प्रबल विष्टको भुल्न सकिनँ, लेखराज गिरीको एउटै बाटो, राम भट्टराईको जिन्दगीको सुख खोज्दै, गौरव गुरुङको तिम्रो सम्झनामा, हरिराम पौडेलको आफ्नै प्रीतिको गीत, रविन्द्र आशिष शैलीको छैन जून आज, अमरदीप सुनुवारको मायाजाल मोहनी, डा.विष्णुमूर्ति भट्टराईको मेरो नाम लिने ओठले र डा.रुद्रनाथ अधिकारीको आऊ न माया आऊ टप टेनमा परेका थिए ।

समारोहमा रु. ५७ हजार नगद सहित ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार’ बाट पनि दुई पुस्तक पुरस्कृत भएका छन् ।  कल्पना खरेलको पुस्तक ‘नन्दिनी’ र ज्ञानेन्द्र गदालनको पुस्तक ‘भोलिको आश उज्यालो प्रकाश’लाई संयुक्त रुपमा नगद रु. ५७ हजार सहित पुरस्कृत  गरियो ।  यस पुरस्कारका लागि यो वर्ष कल्पना खरेलको नन्दनी, ध्रुव खनालको मनको आँखा र डा. ज्ञानेन्द्र गदालको भोलिको आश उज्यालो प्रकाश शीर्षकका तीन पुस्तक टप थ्रीमा परेका थिए  । समारोहमा गीतकार सङ्घ नेपालको आजीवन सदस्यता लिएका गीतकारहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमलाई विभिन्न तरिकाले सहयोग पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो प्रदान गरियो ।

समारोहमा लोकप्रिय गायक/गायिकाहरुले प्रतिष्ठित गीतकार नीर शाह, डा. भोला रिजाल, गणेश रसिक, एस्पी कोईराला, अमर बान्तु, वसन्त चौधरी, डा. कृष्णहरि बराल, योगेन्द्रमणि दाहाल, चूडामणि देवकोटा र शुभ मुकारुङका गीत प्रस्तुत गरेका थिए । लाइभ वाद्यवादनका साथमा जगदिश समालले ‘गहिराईमा डुब्दै नडुब’ सञ्जय तुम्रोकले ‘मैना हे मैना’ र  ‘बादलहरु हो’ बोलका दुई गीत गाएका थिए भने अशोक मुकारुङले धेरै सम्झे धेरै हुन्छ’, रुपक चौधरी र बिनुषा राईले युगल गीत ‘धड्कनभित्र लुकाइदेऊ न’, निशा देसारले ‘आमा’, माण्डवी त्रिपाठीले ‘मेरो प्यारो मान्छे’, प्रेम परियारले ‘मर्ने कसैलाई रहर हुँदैन’, सुमित खड्काले ‘तिम्रो पनि रगत’ र गणेश पराजुलीले ‘तिमीले मलाई छाडिगए’ बोलका एकएक वटा गीत गाएका थिए ।

लाइभ वाद्यवादनतर्फ वरिष्ठ सङ्गीतकार अशोक राईको सङ्गीत संयोजनमा किबोर्डमा सुबानी मोक्तानले, सेक्सोफोन र भ्वाइलिनमा मनोहर सुनामले, भ्वाइलिनमा रविन कार्की ढली, मोहनकृष्ण कार्की ढली र नवीन कार्की ढलीले, ढोलकमा कुमार महाराज र भरत बुढाथोकीले, मादलमा पोषण घर्ती र अनिल थापा मगरले, बाँसुरीमा गोपाल देव घतानीले, प्याड ड्रममा अङ्कित खड्काले, रिदम गितारमा खगेन्द्र गुरुङले, लिड गितारमा प्रभात लामाले र बेस गितारमा देव राईले साथ दिएका थिए । गत भदौ २५ गते आयोजना गर्ने निश्चित भैसकेको यो कार्यक्रम भेटेकोशीमा अचानक आएको बाढीका कारण जनधनको अकल्पनीय क्षति भएपछि सङ्घले एक विज्ञप्ति प्रकाशित गरि तत्कालका लागि स्थगित गरेको थियो ।

कार्यक्रममा विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरु, कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरु लगायत नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, सदस्य सचिव भूपेन्द्र रायमाझी, चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम केसी, साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, अग्रज गायिका मिरा राणा,  गीतकार सङ्घ नेपालका संस्थापक अध्यक्ष एवं प्रतिष्ठित गीतकार कृष्णहरि बराल, प्रतिष्ठित गीतकारहरु भोला रिजाल, एस्पी कोइराला, राजेन्द्र थापा, गीतकार सङ्घ नेपालका अक्षय कोष संरक्षकहरु अमर बान्तु, अभिषेक रिजाल, मोहित मर्दन थापा, गीतकार दिनेश अधिकारी, सुवाशचन्द्र ढुङ्गेल, प्रमोद ढुङ्गाना, भूषण खरेल, योगेन्द्रमणि दाहाल, शुभ मुकारुङ, सुनिल मास्के, कवि राजुबाबु श्रेष्ठ, देवेन्द्र केसी, लाक्पा शेर्पा, दुर्गा रायमाझी लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रम सञ्चारकर्मी एवम् सङ्घका आजीवन सदस्य हेम सुवेदीले सञ्चालन गरेका थिए भने रेडियो आहा १०४.५ मेगाहर्ज र रेडियोको फेसबुक पेज मार्फत लाइभ गरिएको थियो ।