आशिष अविरल र रचना रिमालको स्वरमा ‘चुलबुले नानी’

-सुभाष श्रेष्ठ प्रधान 

लोक शैली, आधुनिक प्रस्तुति र आकर्षक नृत्यको सङ्गम रहेको नयाँ गीत ‘चुलबुले नानी’ को अफिसियल भिडिओ Reema Shrestha’s World युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको यस गीतले दर्शक तथा सङ्गीतप्रेमी श्रोतामाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। गीतमा लोकप्रिय गायक आशिष अविरल र चर्चित गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ भने सङ्गीत पनि आशिष अविरलकै रहेको छ। गीतकी सर्जक रिमा श्रेष्ठ हुन्।

पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल सोही म्युजिक भिडिओमा कलाकार सुरेश कोहली र जुना सुन्दासको आकर्षक अभिनय तथा नृत्य देख्न सकिने छ। भिडिओको कोरियोग्राफर सियोन श्रेष्ठ र सहायक कोरियोग्राफर  माधव ढुङ्गाना हुन् । यस म्युजिक भिडिओको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । गीतको  म्युजिक एरेन्ज कुशल सिंह निलले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गायक तथा सङ्गीतकार आशिष अविरलले गरेका हुन् साथै गीतको रेकर्डिङ शिशिर परियार र कृष्ण लामिछानेले गरेका हुन् ।

चर्चित सिनेमेटोग्राफर उत्सव दाहालको छायाङ्कन रहेको यस भिडिओको सम्पादन बिजेश पौडेलले गरेका छन्। त्यस्तै मेकअप ज्योति केसीले गरेकी छन्। दिपेन गौतम माइकल प्रोडक्सन म्यानेजर रहेको यस परियोजनाका निर्माता कुशल गुरुङ हुन्। गीतको सम्पूर्ण रेकर्डिङ कार्य रागा रेकर्ड्स एण्ड रिसर्च सेन्टरमा भएको हो ।

देशभक्ति ,आधुनिक, प्रेमभावका गीतहरू लेख्न निकै प्रखर गीतकार रिमा श्रेष्ठले नेपाली कला, भाषा र संस्कृतिलाई विश्वसामुमा चिनाउँदै आइरहेकी छिन्। लोक नृत्य शैलीमा तयार पारिएको ‘चुलबुले नानी’ लाई माया गर्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूमा हृदयदेखि नै नमन गर्न चाहन्छु गीतकार रिमा श्रेष्ठ भन्छिन्।