तीजमा संगीत संस्कृतिको प्रवर्द्धनको लागि आयोजना हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ को पाँचौं संस्करण भव्यरुपमा सम्पन्न भएको छ । राजधानीको बानेश्वरस्थित क्रिष्टल पार्टीभेन्युमा आयोजित समारोहका बिच २२ विधामा अवार्ड प्रदान गरियो ।
कार्यक्रममा गायिका प्रीति आले उत्कृष्ट तीज गीत दोहोरी गायिका बनिन् भने गायक खुमन अधिकारीले उत्कृष्ट दोहोरी गायकको अवार्ड उचाले । गायिका आले र गायक अधिकारी खाडी जानेलाई बोलको गीतबाट उत्कृष्ट तीज दोहोरी गीत गायक गायिका घोषित भएका हुन् । यस्तै गायिका पुजन काफ्ले तीजको लहर आउँदा बरिलै गीतबाट उत्कृष्ट मौलिक तिज गीत गायिकाको अवार्ड चुम्न सफल भइन् ।

अवार्डमा रानीहार र तीन बहिनी गीतले ह्याट्रिक गर्न सफल भए । रानीहार गीतबाट किशोर थापाले सर्वोत्कृष्ट मिक्सिङ, शंकर थापा स्माइलले सर्वोत्कृष्ट संगीतकार र संगीता भण्डारीले सर्वोत्कृष्ट तीज गीत गायिका जुरीतर्फको अवार्ड चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट तीज दोहोरी संगीतमा तीन बहिनी गीतबाट रामकृष्ण बम मल्ल, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक विष्णु शर्मा र इन्करेजमेन्ट अवार्डतर्फ आरती परियार, तनुजा शाही, पार्वती आचार्य अवार्ड चुम्न सफल भए । आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न सोहि समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने सशक्त नारीलाई सम्मान समेत अर्पण गरिएको थियो ।
समारोहकी प्रमुख अतिथि प्रतिष्ठित गायिका मिरा राणा, अवार्डका अध्यक्ष सबिता पोखरेल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दिनेश डिसी, साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकालीले आ–आफ्नो क्षेत्रमा योगदान दिएका नारीलाई सम्मान अर्पण गरे । कार्यक्रममा वरिष्ठ गायिकाद्वय यशोदा पराजुली र टिका पुनलाई ‘आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान’ अर्पण गरिएको थियो भने कमला रिसाललाई ‘आर्टिस्ट अफ नेपाल साहित्य सम्मान’, अभिनेत्री न्यान्सी खड्कालाई ‘आर्टिस्ट अफ नेपाल चलचित्रकर्मी सम्मान’ र सोजना लोहार ‘आर्टिस्ट अफ नेपाल कला पत्रकारिता सम्मान’द्वारा सम्मानित भए ।
समारोहमा चर्चित फेसन डिजाइनर काजल शर्मा ‘आर्टिस्ट अफ नेपाल फेसन सम्मान’, शितल शर्मा र अनिता कुवँर ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान’ बाट सम्मानित भए । सृष्टि घिमिरेलाई ‘आर्टिस्ट अफ नेपाल कोरियोग्राफी सम्मान’, अभिनेत्री तथा पर्वतारोही छिरिङ शेर्पालाई ‘आर्टिस्ट अफ नेपाल कला सम्मान’ जयन्ता अधिकारी र अन्जु परियार ‘आर्टिस्ट अफ नेपाल सामाजिक सेवा सम्मानबाट सम्मानित भए । कानुनविद कमलावली ‘आर्टिस्ट अफ नेपाल राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भइन् ।
सर्वोत्कृष्ट तीज गीत संगीत संयोजक कृष्ण केसी, सर्वोत्कृष्ट कोरियोग्राफर जेरी भण्डारी घोषित भए । छेक्यो बरै बादलुले गीतबाट सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा अन्जिता विश्वकर्मा घोषित भइन् । कर्णाली सलल बोलको गीतबाट नारायणी खत्री तीज गीत भिडियो मोडल महिलातर्फ, नारायणी खत्री कर्णाली सलल गीतबाट, पुरुषतर्फ भुवन के. पोखरेल कम्मरु भाचौंला गीतबाट उत्कृष्ट ठहरिए । सर्वोत्कृष्ट तीज गीत संयुक्त मोडलमा झरना रिसाल र दिप्सा कार्कीले माइतीघरको आँगन गीतबाट अवार्ड हात पारे । बुलेट बाइक नवमोडल विधाको अवार्ड पूर्णिमा आचार्यले चुमिन् । कर्मै खोटी छ गीतबाट सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक विधाको अवार्ड निशान बानियाँले उचाले । सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार देवराज आचार्य –साउने झरीबाट चुम्न सफल भए । म्वाइँ खाँदै गीतबाट जेरी भण्डारीले सर्वोत्कृष्ट कोरियोग्राफरको अवार्ड चुम्न सफल भए ।
गीता वि.कले यो तीजमा बोलको गीतबाट अवार्ड हात पार्दा नाच छमछम गीतबाट सर्वोत्कृष्ट गीत संयुक्त गायन रिता बुर्लाकोटी/समिक्षा अधिकारी घोषित भए । सर्वोत्कृष्ट तीज दोहोरी शब्दतर्फ यो तीजमा गीतबाट कृष्ण लामिछानेले अवार्ड उचाले । यस्तै सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द सरिता घिमिरे (नाचौं न छमछमी), सर्वोत्कृष्ट मौलिक तीज गीत शब्द विपिन किरणले (नाच छमछम) अवार्ड चुमे भने तीज आयो गीतबाट सर्वोत्कृष्ट तीज गीत गायिका चाँदनी शाक्यले अवार्ड चुम्न सफल भइन् । त्यसैगरी सर्वोत्कृष्ट तीज गीत डायस्पोरा गीतकार डा.अनितारा रञ्जितकार ‘नाचौं न संगीनी’ गीतबाट अवार्ड चुम्न सफल भइन् भने डायस्पोरा गीतबाट शारदादेवी अधिकारी ‘छक्कै परियो’ गीतबाट जुरी अवार्ड चुम्न सफल भइन् ।
सर्वोत्कृष्ट तीज गीतको अवार्ड उषा मलाहको ‘चट्टै परेर’ गीतले चुम्न सफल भयो भने सर्वोत्कृष्ट म्युजिक कम्पनी ‘छेक्यो बरै बादलुले’ गीतबाट हमाल म्युजिक बन्न सफल भयो । ‘नौरती फूली’ गीतबाट दिपक शर्मा पपुलर संगीतकार अफ इयर बन्न सफल भए । जुरी अवार्डतर्फ मौलिक तीज गीत शब्द ‘कर्मै खोटी छ’ गीतबाट सुनिल केसी, ‘चरि भए त’ गीतबाट राधा हमाल बानियाँले तीज गीत दोहोरी गायिका, ‘नाचौं न छमछमी’ गीतबाट विपिन आचार्यले म्युजिक एरेन्जरको अवार्ड चुम्न सफल भए । त्यस्तै गायिका आशा बुढा ‘बुलेट बाइक’ गीतबाट पब्लिक च्वाइस अवार्ड चुम्न सफल भइन् । त्यस्तै इन्करेजमेन्ट अवार्ड नवगायिका ‘रातो सारी’ गीतबाट उमा श्रेष्ठ र इन्करेजमेन्ट अवार्ड संगीतकारतर्फ ‘रेलिमै घुमौंला फिरौंला’ गीतबाट रमेशराज भण्डारी उत्कृष्ट बन्न सफल भए । कार्यक्रम सेसेमी लिम्बूले सञ्चालन गरेकी थिइन् ।
नेपाली सांगीतिक जगतकी धरोहर प्रतिष्ठित गायिका मिरा राणाको प्रमुख आतिथ्यता र अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलको सभापतीत्व रहेको थियो । कार्यक्रममा प्रतिष्ठित कलाकारहरु मोहन निरौला, मदनदास श्रेष्ठ, गीतकार संघ नेपाल अध्यक्ष बसन्त बित्यासी थापा, रोयल्टी संकलन समाजका महासचिव चन्द्र शर्मा, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ गायिका देबिका बन्दना, बरिष्ठ पत्रकार एवं गीतकार – शान्तिप्रिय, डब्बु क्षेत्री, बरिष्ठ संगीतकार गणेश पराजुली, बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठ, बरिष्ठ गीतकार भरत बमजन, समाजसेवी तथा व्यवसायी ब्युटी सराफ, बरिष्ठ सौन्दर्यविद सोनीका रन्जित, लगायतका कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा गायिका प्रीति आले र गायक खुमन अधिकारीले गायन प्रस्तुति दिएका थिए ।













