‘ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड’ भदौ २८ मा आयोजना हुने

ओप्सना फिल्म्सको आयोजनामा यही भदौ  २८ गते आइतबार तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड-२०८३’ हुने भएको छ । भोटेकोशीमा अचानक आएको अकल्पनीय बाढी पहिरोले ठूलो जन धनको क्षति भएर विषम परिस्थिति सिर्जना भएपछि भदौ १३ गते आयोजना गर्न लागिएको सो अवार्ड कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । अवार्ड आयोजक संस्था ओप्सना फिल्म्स प्रा. लि. का प्रवन्ध निर्देशक ओम प्रकाश राईका अनुसार यही भदौ २८ गते आइतबार चाबहिलस्थित चलचित्र विकाश बोर्डको सभा हलमा अवार्ड कार्यक्रमको आयोजना हुने छ ।

‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि सम्पन्न हुँदै आईरहेको ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड’ मा गीत-सङ्गीत एवं चलचित्र क्षेत्रका सर्जक/कलाकारहरुलाई अवार्डका साथै विभिन्न टाइटलका सम्मान एवं पुरस्कारहरु वितरण गरिने छ भने गीत-सङ्गीत, साहित्य तथा विभिन्न पेशा-व्यवसायमा क्रियाशील रही आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान गरिने कुरा अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा लामाले बताएकी छिन् ।