-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध सङ्गीतकार सुनिल मास्केको सङ्गीतमा रहेको प्रेमपरक भावको आधुनिक गीत ‘पहिलो माया’ को भिडिओ बजारमा आएको छ l लोकप्रिय गायिका जुनु रिजाल काफ्लेको स्वरमा रहेको यो गीत सबिना महर्जनले रचना गरेकी हुन् भने अमोश तामाङको सङ्गीत संयोजन तथा किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको छ l
भिडिओमा उदियमान प्रतिभाशाली कलाकार शिला गजुरेल र रिवाज गौतमको अभिनय रहेको छ l युवराज वाइबाको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा दीपक गिरीले सिनेमाटोग्राफी गरेका छन् भने सम्पादन विकाश दाहालको रहेको छ l भिडिओ सङ्गीतकार मास्केकै युट्युब च्यानल S Music (Sunil Maskey Official) बाट बजारमा आएको हो l गीत तथा भिडिओमा पहिलो प्रेमले दिएको खुसी र उमङ्गलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ l
३ दशक भन्दा अघिदेखि सङ्गीत क्षेत्रमा क्रियाशील रहँदै आएका मास्केका हालसम्म एकल सङ्गीतका १२ एल्बम प्रकाशन भैसकेका छन् भने फुटकर एवं कलेक्शन एल्बमका रुपमा उनका सयौं गीत बजारमा आएका छन् l सुरुमा बाँसुरीवादकको रुपमा यस क्षेत्रमा प्रवेश गरेका लोकप्रिय गोर्खाली सर्जक मास्केले सङ्गीत क्षेत्रबाट भएको आमदानी परोपकारी कार्यमा खर्च गर्दै आएका छन् l













