-निर्मल सुब्बा आशीष
लिम्बू समुदायमा पालाम र धान नाचको आफ्नै महत्व र पहिचान छ | हरेक शब्दहरुमा प्रेम, जीवन, प्रकृति र भावनाहरूको मिठास भेटिन्छ र यसको धुनमा लिम्बू पुर्खाहरूको विरासत र लिम्बू मौलिकता झल्किन्छ। पालाम केवल गीत मात्र होइन, यो संस्कृति र बोल्ने एउटा सुन्दर माध्यम हो, लिम्बु भाषा र संस्कृतिको जगेर्ना गर्नु पनि हो ।
सेवालुङ च्यानलले यस्तै लिम्बू पालाम, हाक्पारे, ख्यालीहरु निरन्तर सार्वजनिक गर्दै आइरहेको छ | सेवालुङ च्यानलको उद्देश्य लिम्बू भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु पनि हो | यही उद्देश्यका साथ यो च्यानलले हालै बिबश नेम्बाङ लिम्बू र दुर्गा तुम्सा लिम्बूको स्वर रहेको पालाम `तुम्याहाङ´सार्वजनिक गरेको छ ।

यस पालामको शब्द सङ्कलन लक्ष्मी नाम्लाक्पा लिम्बू र लय सङ्कलन दुर्गा तुम्सा लिम्बूले गरेका हुन् |सङ्गीत संयोजन मनोज साङसोन राई, रेकर्डिङ/मिक्सिङ सुरेश राई, छायाङ्कन अरुण बरुण न्यौपाने र सम्पादन निर्मल सुब्बाको रहेको यो पालाम भिडिओको निर्देशन बिबश नेम्बाङ लिम्बूले गरेका हुन् |

ललितपुरको हात्तीबनमा छायाङ्कन गरिएको यो पालामको भिडिओमा सलमान थलङ, पूर्ण सेलिङ, ईन्द्र लिङखिम लिम्बू , थोकेन्द्र लिम्बू , जेपी नेम्वाङ, विवश नेम्वाङ, मिना महरेसङ लिम्बू ,सुम्निमा खापुङ, बिमला ईवाराम, मिना कुरुम्भाङ, निशाम लिम्बू र रेजिना लिम्बूको अभिनय रहेको छ | उत्कृष्ट गायन रहेको यस पालामको लय पनि अत्यन्तै मिठो छ | भिडिओ राम्रो निर्माण भएको छ | सेवालुङ युट्युब च्यानलबाट सार्वजनिक भएको पालाम `तुम्याहाङ´ दर्शक/श्रोताले निकै मन पराईरहेका छन् |













