किरात राई सांस्कृतिक कलाकार संघको २१ औं स्थापना दिवस: कदर पत्र र नगदसहित प्राज्ञ अशोक लोहोरुङ राई पुरस्कृत

​काठमाडौँ । किरात राई सांस्कृतिक कलाकार संघको २१ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ। गत जेठ ३० गते काठमाडौँ र ओखलढुंगामा एकैसाथ विभिन्न सांस्कृतिक र बौद्धिक कार्यक्रमहरूको आयोजना गरी स्थापना दिवस मनाइएको हो। ​‘सभ्य र भव्य’ रूपमा सम्पन्न उक्त विशेष समारोहमा किरात सभ्यताको विकास, प्रवर्द्धन तथा उत्थानमा उल्लेख्य योगदान पुर्‍याउनुहुने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।


सोही अवसरमा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशील वरिष्ठ संगीतकार, संगीत संयोजक एवं प्राज्ञ अशोक लोहोरुङ राईलाई नगद तथा कदर पत्रसहित तेज-तिला किरात संगीत पुरस्कार २०७० द्वारा पुरस्कृत गरियो। ​विभिन्न विधामा श्रष्टाहरू सम्मानित सो ​समारोहमा प्राज्ञ राईका साथै कला, संस्कृति र सामाजिक क्षेत्रका अन्य प्रतिष्ठित व्यक्तित्वहरूलाई पनि नगद र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो।

समारोहमा ​किरात राई यायोक्खाकी पूर्व अध्यक्ष यसोदा राई किरात राई सांस्कृतिक सम्मानबाट, वरिष्ठ गायक, संगीतकार एवं संघका संस्थापक अध्यक्ष जीतेन राई ​किरात राई संगीत सम्मानबाट, गायक सागर संसार राई ​किरात ाई प्रतिभा पुरस्कारबाट, श्रष्टा चन्द्र जयपाल राई ​हर्कजङ छलिशोभा किरात कला पुरस्कारबाट, श्रष्टा वीरेन्द्र राई​ शिव चन्द्र डिक सोभा राई उत्कृष्ट रचना पुरस्कारबाट र  प्राज्ञ राई थपिएको थप जिम्मेवारीबाट पुरस्कृत हुनुभएको थियो ।

पुरस्कृत भएपछि आफ्नो भावना राख्दै प्राज्ञ अशोक लोहोरुङ राईले संस्थाले आफ्नो कामको उच्च मूल्याङ्कन गरेकोमा गौरवान्वित महसुस भएको बताउनुभयो। उहाँले यस पुरस्कारले आफूलाई कला क्षेत्रमा अझै सक्रिय भई लाग्ने हौसला र थप जिम्मेवारी बोध गराएको उल्लेख गर्नुभयो। ​आफ्ना आगामी व्यावसायिक योजनाहरूबारे जानकारी दिँदै प्राज्ञ राईले हाल मदन जयन्ती सांस्कृतिक साँझ, दीपक लिम्बू एकल सांगीतिक साँझ, गीतकार संघको सांगीतिक कार्यक्रमका साथै ताप्लेजुङ साँझ र धनगढीमा आयोजना हुने नेपाली मौलिक बाजा प्रशिक्षणको विशेष तयारी भइरहेको बताउनुभएको छ।

​किराती कला, संस्कृति र मौलिक संगीतको संरक्षणमा किरात राई सांस्कृतिक कलाकार संघले विगत २१ वर्षदेखि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र प्रोत्साहनमूलक कार्यहरूलाई निरन्तरता दिने संघले प्रतिबद्धता जनाएको छ।