-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध बलिउड गायक उदितनारायण झा र लोकप्रिय गायिका सरिता राई आङ्बुहाङको युगल स्वरमा रहेको गीत ‘शिरैमा लायौ शिरफूल’ को भिडिओ सार्वजनिक भएको छ। गीतको भिडिओ ताप्लेजुङ मिडिया हाउस युट्युब च्यानलबाट शुक्रबार डिजिटल बजारमा आएको हो । सरिता राई आङ्बुहाङको रचना, साजन राईको सङ्गीत, फणिन्द्र राईको सङ्गीत संयोजन, सुमन खड्काको रेकर्डिङ र श्यामश्वेत रसाईलीको मिक्सिङ/माष्टरिङमा तयार भएको गीतको भिडिओ सङ्गीत व्यावसायी समिर आङ्बुहाङ लिम्बुको प्रस्तुतिमा निर्माण सम्पन्न भएको हो ।
पूर्वी पहाडी जिल्ला पाँचथरको साँघुटार वरपरका रमणीय स्थानहरुमा छायाङ्कन गरिएको यस म्युजिक भिडिओमा विल्शन विक्रम र रजनी गुरुङले प्रमुख भूमिकामा अभिनय गरेका छन् l भिडिओ विल्शन विक्रम राईकै निर्देशन एवं कोरियोग्राफीमा छायाङ्कन भएको हो l उच्च पहाडी भेगको मनोरम दृश्यहरुले उसै पनि दर्शकको मन लोभ्याउँछन् भने उदित र सरिताको मिठो गायनले शव्दको भाव गहिराईमा स्रोतालाई डुबाउँछन् l हेर्दै जाँदा भिडिओ कतिबेला सकियो पत्तै हुन्न l
लगभग २ दर्जन गीतमा स्वर दिएकी र त्यति नै संख्यामा गीत रचना गरिसकेकी सरिताका सबैजसो गीत स्रोताले उत्तिकै रुचाएका छन् l ती मध्ये पनि उनले रचना गरेका गीत ‘धरान धनकुटा भेडेटार सोल्टेनीज्यू, मुरली तिरिरि, हङकङ सिङ्गापुर, याशोक बजारमा, गैरी खेतैमा’ साथै उनले गएका गीत ‘धनकुटाको डाँडै डाँडा (शब्द: जेबी थुलुङ, लय: साजन राई, स्वर: सरिता राई आङ्बुहाङ र साजन राई) र त्रिसाली मेला’ (शव्द/सङ्गीत: लक्ष्मण लिम्बू) विशेष चर्चामा छन् l ‘मैले गाएको भन्दा रचना गरेका गीत स्रोताले अझ धेरै मन पराउनुभएको छ l मेरो रचनाका तमाम गीतहरुमध्ये सबैभन्दा बढी मलाई मन पर्ने गीत चाहिँ ‘बिर्सियौ कि तिमीले मलाई’ हो’ उनी भन्छिन् l सरिताले पूर्वाञ्चलका विभिन्न स्थान लगायत भारतको सिलोङ, आसाम आदि स्थानहरुमा समेत आफ्नो गायनकला प्रस्तुत गरिसकेकी छिन् l












