जानु कुँवरको मौलिक तिज गीत ‘माइतीको सम्झना आयो बरिलै’ सार्वजनिक

-माधव अधिकारी 

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज आउन केहीदिन बाँकी भएसंगै तिजका गीतहरुको भिडिओ सार्वजनिक हुने क्रम निकै बढेको छ । यस्तैमा गायिका जानु कुँवर श्रेष्ठको पनि मौलिक तिज गीत ‘माइतीको सम्झना आयो बरिलै’को भिडिओ सार्वजनिक भएको छ। जानु कुँवरकै शब्दरचना ,तीर्थराज पोखरेलको सङ्गीत र प्रेमदीप रामजलीको म्युजिक एरेञ्ज रहेको यस गीतमा माइतीमा तिज मनाउँदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ । पछिल्लो समय आएका विकृत र अश्लीलखाले तिजको गीतबाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलिक र सन्देशमूलक हुने निर्माण पक्षको दाबी छ।

विजय रुम्बा लामाद्वारा सम्पादित र निर्देशित यस गीतको भिडिओमा विशाल योञ्जनको छायाङ्कन रहेको छ। जानु कुँवर र  सेजल श्रेष्ठको अभिनय रहेको यो भिडिओ गायिका जानु कुँवरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायिका कुँवरले कोपिला गौतमसंग मिलेर २ वर्षअघि प्रकाशन गरेको पहिलो तिज गीत ‘तीज आयो लैबरि लै’ र दोस्रो गीत  ‘मालिङ्गो खिपी’ दर्शकले निकै मन पराएका थिए । यो उनको तेस्रो गीत हो ।