‘मिस प्लस टू इन्टरनेसनल’मा एकसाथ तीन विजेता घोषित

‘मिस प्लस टु इन्टरनेशनल’ मा तीन विजेता छानिएका छन् । राजधानीमा आयोजित एक प्रतियोगितामा ‘मिस प्लस टु नेपाल वर्ल्ड’, ‘मिस प्लस टु नेपाल ग्लोवल’ र ‘मिस प्लस टु नेपाल हेरिटेज’ गरेर एकसाथ तीन विजेता छानिएका हुन् । राष्ट्रिय नाचघरमा आयोजित भब्य समारोह बिच बुधबार साँझ सम्पन्न प्रतियोगितामा  ‘मिस प्लस टु नेपाल वर्ल्ड’को ताज कर्मा लामाले जित्दा ‘मिस प्लस टु नेपाल ग्लोवल’ आकृति पोखरेल घोषित भइन् । प्रतियोगितामा मुस्कान कुँवर भने ‘मिस प्लस टु नेपाल हेरिटेज’को उपाधि जित्न सफल रहिन् ।

सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र प्रतिभाको आधारमा विजेता छानिएको सो  प्रतियोगितामा हेरिटेज विजेता मुस्कान कुँवर ‘पब्लिक चोइस’को उपाधि समेत हात पार्न सफल भइन् । प्रतियोगितामा सबटाइटल तर्फ मुस्कान कुँवर ‘मिस ट्यालेन्ट’, कर्मा लामा ‘मिस स्टाइलिस’ र ‘बेस्ट वाक’, आकृति पोखरेल ‘मिस फोटोजेनिक’, प्रियंका चौधरी ‘मिस कन्जिनियलिटी’, अनुपमा नेपाल ‘मिस पर्सनालिटी’, काजल मेहता ‘मिस कन्फिडेन्ट’, रेशु कुमारी मगर ‘मिस इन्टेलेक्चुअल’, रेनुका मास्के ‘मिस डिसिप्लिन’, निकिता शाह ‘बेस्ट ट्रान्सफर्मेसन’, पुष्पाञ्जली शर्मा ‘मिस डिटरमिनेसन’, कृति शाह ‘मिस चार्मिङ’ र मनकामना रौनियार ‘मिस डिसेन्ट’, आश्मा धामी ‘म्यानेजमेन्ट चोइस’ र कृतिका कर्माचार्य ‘इभनिङ गाउन’ हात पार्न सफल भएका थिए ।

सङ्गीता रौनियार, प्रिया मानन्धर, बीएवा बस्नेत, राम केसी, विशाल गुरुङ, अनिला श्रेष्ठ, मनिषा डंगोल लगायतका निर्णायक रहेको सो प्रतियोगिता युभा इभेन्ट्सले आयोजना गरेको थियो । त्रिदेवी श्रेष्ठको कार्यक्रम ब्यवस्थापन रहेको सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुको प्रतिभा निखार्दै उनीहरुको ब्यक्तित्व निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताईएको छ । प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा ‘जीनोपे’ जोडिएको थियो ।

यो प्रतियोगिताको अघिल्ला संस्करणबाट पनि थुप्रै प्रतिभाशाली अनुहारहरू उदाएका थिए । जसमा सुप्रिया हमाल ठकुरी, आँचल शर्मा, प्रभेशिका अधिकारी र शिक्षा राणा लगायत रहेका छन् । आँचलले सन् २०१५ मा उपाधि जितेकी थिइन् । उनी नेपाली फिल्म उद्योगमा स्थापित भएकी छन् ।