चलचित्र ‘लोजिमा’ भारतमा सम्पन्न ‘इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड’ बाट सम्मानित

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै आएको चलचित्र लोजिमा भारतको कोलकातामा भएको इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट सम्मानित भएको छ | शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकी माता कोलकाताको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा लोजिमा सम्मानित भएको हो । उक्त अवार्ड कार्यक्रममा नायक आशाहाङ आङबो सर्वोत्कृष्ट नायकको रुपमा सम्मानित भएका छन् |

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोलकाताका लागि नेपाली नायब महावाणिज्यदूत जनकराज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ अभिनेत्री विपना थापाका साथै कोलकाताका विभिन्न नेपाली संघ संस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । चलचित्र लोजिमाले यस अघि नै १२ औं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ( NAFF ) र ओप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड, दोश्रो राष्ट्रिय आदिवासी म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१ प्राप्त गरिसकेको छ l

जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रसंसायोग्य छ l सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले विभिन्न स्थानको विशेष प्रदर्शनमा दर्शकको अपार साथ पाएको थियो l लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ l

चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ l पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशेष प्राविधिक सहयोगीको रुपमा निर्देशक वसन्त अधिकारीले साथ दिएका छन् l  चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् l सागर सुब्बाको कथा/निर्देशन रहेको यस चलचित्रको पटकथा/संवाद सागर केरुङ्ले लेखेका हुन् l

चलचित्रमा बिमला खजुम लिम्बूको अलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ l

यसैगरी चलचित्रमा निर्माता आशाहाङ आङ्बो र कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशकमा दीपक अधिकारी, छायाकार रविन्द्र बराल र मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् l अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के. प्रोडक्सनमा भएको हो l

चलचित्र मनोरन्जनको लागि मात्र नभएर समाज रुपान्तरणका लागि चेतना र सन्देशको संवाहक पनि हुनु पर्दछ भन्ने कुरामा आफू सचेत रहेको नायक आशाहाङ आङबोले बताएका छन् l