टेरेशाको स्वरमा `मनको कथा´ बोलको गीतिभिडिओ सार्वजनिक

-प्रकाश सुवेदी

बालगायिका टेरेशा विश्वकर्माको स्वरमा रहेको `मनको कथा´ बोलको गीतिभिडिओ सार्वजनिक भएको छ । चर्चित सङ्गीतकार हरि लम्सालले सङ्गीतवद्ध गरेको सो गीत गीतकार उर्मिला बस्नेतले लेखेकी हुन् भने राजधानीको अकेष्टिक स्टुडियोमा रेकर्ड भएको हो l गीतमा चन्द्र चौधरीको ध्वनि सम्पादन तथा सम्मिश्रण रहेको छ ।

मलाई कोर्न देऊ मेरो मनको कथा
मलाई भन्न देऊ मेरो मनको व्यथा
कोही त सुनिदेऊ कोही त बुझिदेऊ
मेरो मनको कथा, मेरो मनको व्यथा

प्रस्तुत गीतको भिडिओमा बुबाआमा एक आपसमा बिछोडिँदा बच्चाहरुको कलिलो मानसपटलमा कतिसम्म चोट पर्छ भन्ने विषयलाई राम्रोसँग उतार्न खोजिएको छ । स्वयं गायिका टेरेशा विश्वकर्मा नै मुख्य पात्रका रूपमा देखाइएको यस भिडिओमा बुबाआमाको बिछोडपछि होस्टल या आश्रममा बस्न विवश बच्चालाई कतिसम्म पीडा हुन्छ भन्ने कुरा दर्शाइएको छ । कहिलेकाहिँ चाडपर्व या छुट्टीमा आमा लिन आउँदा सौतेनी बुबाले देखाएको प्रतिक्रिया र बुबा लिन आउँदा सौतेनी आमाले देखाएको प्रतिक्रियाले बच्चाको मनमा पर्न गएको गहिरो आघातलाई भिडिओ मार्फत दर्शाईएको छ । बच्चा न हो, न आफ्ना समस्या सबैलाई सुनाउन सक्छ न वरपरका मानिसहरुले आफ्नो मनोदशा पढ्न सक्छन् । साथीहरुलाई आफ्ना बुबाआमाले देखाएको माया देख्दा उसलाई पनि त्यस्तै माया मैले किन पाउन सकिन भन्ने पक्कै लाग्छ । यही बालमनोविज्ञानलाई भिडिओमा दर्साउन खोजिएको छ l

पछिल्लो समयमा साना साना समस्या र विवादलाई सुल्झाउन नसक्दा या व्यक्तिगत हठलाई त्याग्न नसक्दा निम्नवर्गीय परिवारमा भन्दा मध्यमवर्गीय र उच्चवर्गीय परिवारमा अभिभावकहरुले आफ्नै कोखबाट जन्मेका सन्तानमाथि कतिसम्म अन्याय गरेका छन् भन्ने कुरा यो गीतले दर्शाएको छ । न बच्चाले आफ्ना समस्या खुलेर भन्न सक्ने न समाजले बुझ्न सक्ने यथार्थभित्र वर्तमान समाज जकडिएको छ । यो गीत एउटा गीत मात्र नभएर पछिल्लो समयमा देखिएको यथार्थ पनि हो । उदाहरणका लागि केही महिना अगाडि चितवनको एउटा आवाशीय विद्यालयमा घटेको छात्रा शालिन पोख्रेलको आत्महत्या यस्तै खालका समस्याहरुको दुष्परिणाम हो । घटनापछि विभिन्न मिडियाहरुले विद्यालयमाथि दोषारोपण गरेता पनि यथार्थ भने शालिनका बुबाआमा नै थिए । धेरै पैसा तिरेर होस्टलमा राख्दैमा बच्चाका सबै खुशीहरु पूरा हुन्छन् भन्ने सोच हुनाले शालिन जस्ता बच्चाहरु आत्महत्या जस्तो कठोर निर्णय लिन पुग्छन् ।

बच्चालाई पहिला बुवाआमाको साथ त्यसपछि अन्य भैतिक सूविधा चाहिन्छ । हरेक बच्चाले आफ्ना बुबाआमा सङ्गै मिलेर बसेको देख्न चाहन्छन् । आमाबुबाको बिछोडका कारण बालबालिकाहरु सडकमा या घरेलु कामदार बन्न पुगेका प्रशस्त उदाहरण पनि हामी देख्न सक्छौँ । आफ्नो खुशीका लागि बच्चाको खुशीलाई तिलाञ्जली दिने आमाबुबाहरु हुनुको कुनै अर्थ छैन भन्ने यस गीतको भाव रहेको छ । अभिभावकको मृत्युलाई बच्चाले बिस्तारै स्वीकार्दै जान सक्ला तर भएर पनि नहुनु जस्तो दशालाई कदापि सहन सक्दैन ।

दिनेश पराजुलीको छायाङकन, विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको यस भिडिओमा गायिका टेरेशा सहित सुवाश, सोनिका र अन्विशा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । सर्जक बस्नेतले शब्द मार्फत उठाउन खोजेको विषयलाई भिडिओका निर्देशक निकेश खड्काले निकै नै न्यायसङ्गत तरिकाले उतारेका छन् ।