सङ्गीत क्षेत्रबाट एकाएक हराएका कृष्ण गुरुङको धमाकेदार पुनरागमन हुने

-तुलसी गिरी ‘भावुक’

राम्रो सम्भावना हुँदा हुँदै सङ्गीत क्षेत्रबाट एकाएक हराएका बहुआयामिक सर्जक कृष्ण गुरुङको धमाकेदार पुनरागमन हुने भएको छ l गीत लेखन, सङ्गीत, सङ्गीत संयोजन र गायनमा उत्तिकै अब्बल सर्जक/कलाकार गुरुङ ६० र ७० को दशकमा यस क्षेत्रमा निकै क्रियाशील थिए l १०० भन्दा बढी गीत रचना, त्यति नै संख्याका सङ्गीत र सङ्गीत संयोजनका साथै लगभग डेढ दर्जनजति गीतमा स्वर दिएका गुरुङ सफलता र लोकप्रियताको शिखर चढ्दै गरेको बेला सुटुक्क कता हराए त्यो बेला धेरैका लागि आश्चर्य र कौतुहलताको विषय बनेको थियो l

उनका धेरैजसो गीत फुटकर रुपमा र कलेक्शन एल्बमहरुमा आएका भए पनि एकल शब्द/सङ्गीतमा डी. जे. युवाको एल्बम ‘स्पीड’ र मिजास तेम्बेको रचना र उनको एकल सङ्गीतमा गजल एल्बम ‘परदेशी’ भने त्यो बेला बजारमा आएका थिए l पछिल्ला १५ वर्ष राजनीतिक र व्यावसायिक व्यस्ततामा अल्झिएका एक होनहार सर्जक गुरुङ भन्छन्-‘गीत लेखेर, गाएर भविष्य सुनिश्चित हुने नदेखेपछि औपचारिक रुपमै सङ्गीतबाट सन्यास लिएको हुँ l यो बीचमा मैले आफ्नो शब्द/सङ्गीत र स्वरमा कुनैपनि गीत रेकर्ड गरिनँ l’

कृष्ण गुरुङले भर्खरै हरि लम्सालको शब्द/सङ्गीतमा ‘यस्तो एउटा’, एस. डी. योगीको सङ्गीतमा ‘सिमसिम पानी कान्छी नानी’ र किरण थापाको शब्द तथा बी. बी. राजबंशीको सङ्गीतमा ‘ए कान्छी तिमीलाई डोली चढाउँला’ गरी ३ वटा गीत रेकर्ड गरिसकेका छन् l जस मध्ये २ वटा गीत उनको एकल स्वरमा रहेका छन् l युगल स्वरमा रहेको ‘ए कान्छी’ मा भने उनलाई लोकप्रिय गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् l बजारमा नआउँदै यो युगल गीतको चौतर्फी चर्चा हुन थालेको छ l गीतका सङ्गीतकार बी. बी. भन्छन्- ‘यो गीतले सङ्गीत बजारमा धमाका ल्याउने कुरामा म विश्वस्त छु l’ ‘अब २ वटा गीत रेकर्डको तयारीमा छन् l छिट्टै ५ वटै गीत भिडिओ सहित सार्वजनिक गर्ने योजनामा छु’ गुरुङले भने l यो पटकका कुनै पनि गीतमा आफ्नो शब्द/सङ्गीत नरहने कुरा समेत उनले स्पष्ट पारेका छन् l

खानदानी रुपमै नेपाली कांगेसको पृष्ठभूमि भएका गुरुङले  सक्रीय राजनीतिक जीवन बिताएको डेढ दशक भईसकेको छ भने यतिबेला उनी नेपाली कांग्रेस महासमिति सदस्य रहेका छन् l विगतमा २ वर्ष प्रतिष्ठित व्यावसायिक संस्था मनाङ ग्रुपमा  अध्यक्षको जिम्मेवारी समेत सम्हालेका उनी हाल राजनीतिका साथसाथै विविध प्रकारका व्यावसायिक काममा व्यस्त रहँदै आएका छन् l सङ्गीतलाई व्यावसाय बनाउने योजना नभए पनि अब भने निरन्तरता दिने योजना रहेको कुरा कृष्ण गुरुङले स्पष्ट पारेका छन् l