साहित्यकार सुरेन्द्र महर्जन अमरको एकतिसौं कृति सार्वजनिक


वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको एकतिसौं कृति गीति एल्बम ‘सपना’ को लोकार्पण गरेका छन् l एल्बम सार्वजनिक गर्दै डा. बरालले विगत लामो समयदेखि साहित्य सृजनामा लागेका सुरेन्द्र महर्जन ‘अमर’ को निरन्तरको सृजनाले समग्र साहित्य र गीत, सङ्गीत क्षेत्र अझ बलियो भएको बताए l गीत लेखन क्षेत्रमा सुरेन्द्र महर्जन ‘अमर’ को योगदानको प्रशंसा गर्दै डा. बरालले विगतका एल्बमहरूले जस्तै यस एल्बमले पनि स्रोताहरूको माया पाउने विश्वास व्यक्त गरेका छन् ।  

‘सपना’ एल्बममा रहेको ‘आकाश छुने सपना’ बोलको शीर्ष गीतमा मेलिना राई र मणि सुन्दर लिम्बूको युगल स्वर तथा सङ्गीत/म्युजिक एरेन्जर पावल चाम्लिङ राईको रहेको छ । दोस्रो गीत ‘मायाले हँसाउँछ’ मा पनि गायिका मेलिना राई र विक्रम चाम्लिङको युगल स्वर रहेको छ भने यसमा सङ्गीत/म्युजिक एजेन्जर राम कार्कीको रहेको छ । यसैगरी तेस्रो गीत ‘गल्ती के भयो म बाट’ मा स्वर/सङ्गीत चिरञ्जीवी भण्डारीको र म्युजिक एरेन्जर आशिष लामाको रहेको छ । एल्बमको चौथो गीत ‘सोचें बाँच्ने आधार’ मा सरिता प्रजापतिको स्वर तथा सङ्गीत/म्युजिक एरेन्जर पुष्कर सुनुवारको रहेको छ । यसैगरी पाँचौ एवं अन्तिम गीत ‘तिम्रै साथ हिँडेको देख्छु’  मा प्रताप दास र बुनु उप्रेतीको स्वर रहेको छ भने सङ्गीत सूर्य कमल राईको र म्युजिक एरेन्जर संजय हमालको रहेको छ ।