‘कपन सङ्गीत सरोवर’ को सोह्रौं वार्षिकोत्सव र छैठौं साधारण सभा गत जेठ २८ गते सम्पन्न भएको छ । यस अवसरमा गतवर्ष दिवङ्गत भएका सङ्गीत सरोवरका संस्थापक, अभिभावक एवं सङ्गीत गुरु विनय वर्मालाई श्रद्धाञ्जली सहित यस वर्षको ‘कपन सङ्गीत सरोवर सम्मान’ अर्पण गर्दै उनकी धर्मपत्नी विमला वर्मालाई सो सम्मानपत्र हस्तान्तरण गरियो । यस्तै गतवर्ष नै अल्पायुमै दिवङ्गत सङ्गीत सरोवरका सहसचिव एवं सङ्गीतकर्मी वुद्धिसागर नगरकोटीलाई पनि मरणोपरान्त श्रद्धाञ्जली सहित ‘कपन सङ्गीत सरोवर विशेष सम्मान’ अर्पण गरिएको थियो । सम्मानपत्र उनकी धर्मपत्नी मञ्जु नगरकोटीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति शम्भुजित बासकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मुख्य प्रस्तोताको रुपमा सुप्रसिद्ध कलाकार मुरलीधरलाई आमन्त्रण गरिएको थियो । गायक तथा सङ्गीतकार मुरलीधरले पनि स्वर्गीय वर्मा तथा नगरकोटीप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शाश्त्रीय सङ्गीत जस्तो गहन र महत्वपूर्ण विधालाई जगेर्ना गर्न उल्लेख्य योगदान गर्ने स्व. वर्मा लगायत संस्थाका सदस्यहरुको प्रशंसा गरेका थिए । सो समारोहमा मुरलीधरले शाश्त्रीय गायनका साथै आफ्नो चर्चित गीत ‘उडायो सपना सबै हुरिले’ गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । यसैगरी सुजाता वर्माले भक्ति गायन र स्थनीय राइजिङ युथ व्याण्डका कलाकारहरुले लोक आधुनिक फ्यूजन धुनको प्रस्तुति दिएका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै संस्थाका अध्यक्ष बिसु कुमार के.सी. ले कपन सङ्गीत सरोवरको कार्यक्रममा उपस्थिति सहित विगत सोह्र वर्षदेखि आर्थिक, भौतिक र नैतिक साथ, सहयोग र सद्भाव प्रदान गर्दै संस्थालाई जीवन्त राखी यस अवस्थासम्म ल्याइपुर्याउने संरक्षक तथा आजीवन सदस्यहरु, चन्दादाता, सहयोगी संस्थाहरु र सरकारी निकायहरुप्रति आभार सहित कृतज्ञता प्रकट गरेका थिए ।
सङ्गीत सरोवरको छैठौं अधिवेशनले नयाँ कार्यसमिति समेत गठन गरेको छ । २०६३ सालमा स्थापित यस संस्थाको स्थापनाकालदेखि नै निरन्तर अध्यक्ष पदमा रहेर सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेका के. सी. ले आगामी कार्यकालको लागि संस्थाका उपाध्यक्ष समाजसेवी रवि प्रसाद पौडेललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
संस्थामा नयाँ कार्यकालका लागि पर्शुराम पौडेल, शशी विक्रम थापा र ज्ञानेन्द्र खड्का उपाध्यक्ष, रामसुन्दर अधिकारी सचिव, विश्वराज पोखरेल सह सचिव र लक्ष्मण अधिकारी कोषाध्यक्षमा चयन भएका छन् । पदाधिकारीहरु वाहेक अन्य दशजना सदस्यहरु समेत सो अधिवेशनबाट निर्वाचित भएका छन् ।
नव निर्वाचित पदाधिकारिहरुलाई शुभकामना व्यक्त गर्दै उपस्थित अतिथि तथा सङ्गीत अनुरागीहरुले कपन सङ्गीत सरोवरलाई आगामी दिनमा यस भेगकै गौरव र सङ्गीत जगतको गरिमामय संस्थाको रुपमा पुर्याउन सफलता मिलोस् भन्ने शुभकामना दिएका थिए ।