लोकपप शैलीमा ‘डार्लिङ नभन’ : चर्चामा सुनिता र सङ्गम   

-तुलसी गिरी ‘भावुक’


सङ्गम लिम्बू र सुनिता थेगिमको युगल स्वरमा रहेको गीत ‘डार्लिङ् नभन’ को यतिबेला सङ्गीत बजारमा राम्रै चर्चा भएको छ l गायक सङ्गमकै शब्द / सङ्गीत र राजु कार्कीको सङ्गीत संयोजन रहेको यो गीत केही समय अघि किङ स्टुडियोमा रेकर्ड भएको थियो l पाथीभरा च्यानलको पोष्ट प्रोडक्शनमा निर्माण भएको यस गीतको भिडिओ गायक सङ्गमकै अफिसियल युट्युब च्यानल SANGAM LIMBU मा केहीदिन अघि अपलोड भएको हो l यो समाचार लेखिरहँदा अपलोड भएको छोटो समयमै भिडिओले ६५ हजारको नजिक नजिक अर्गानिक भ्युज पाएको छ l

लोक र आधुनिक शब्दलाई फ्युजन गरेर लेखिएको यस गीतमा एक अर्काप्रति समर्पित मायालु जोडीका प्रेमिल भावहरु व्यक्त भएका छन् l गीतमा गायक गायिकाले आफ्नै भाषा, पन र मौलिकता नै प्यारो लाग्ने कुरा एक अर्कालाई बताएका छन् l उनीहरुले गीतमा भविष्यका योजना र सपनाका मीठा कुराहरु गरेका छन् l सुनिता र सङ्गमको स्वरको केमेष्ट्री गीतमा सङ्लो भएर बगेको छ, एक अर्काको गायकी परिपूरक भएर खुलेको छ l

गीतको विषयमा आफ्नो धारणा राख्दै सङ्गम भन्छन् –’गीत चल्छ भन्ने त लागेकै थियो तर सोचेभन्दा धेरै श्रोता – दर्शकहरुले मन पराउनुभयो, धेरै खुशी लागेको छ l’ सुनितासँग पहिलोपटक जुगलबन्दी गरेका सङ्गम गीतमा नयाँपन भएकैले धेरैलाई मन परेको ठान्छन् l ‘सरल शब्द र लोकपप फ्युजन भएको यो गीतले मलाई श्रोता जहिले पनि नयाँ पनको पर्खाईमा रहेका हुन्छन् भन्ने कुरा सिकाएको छ’ उनी भन्छन् l ‘डार्लिङ् नभन’ लाई उनले करिव २ बर्ष अघिदेखिको तयारी र मेहेनतको प्रतिफल भएको बताए l

यसअघि सङ्गमले पहिलोपटक गाएको मातृ भाषाको गीत ‘निङ्साङ पोक्लछ’ को भिडिओ सार्वजनिक गरेका थिए l जसले बजारमा राम्रै चर्चा पाएको थियो l यस गीतको भिडिओमा विभिन्न कारणले वैदेशिक रोजगारीको लागि विदेशिन बाध्य युवाको कथालाई अत्यन्तै मार्मिक ढङ्गमा प्रस्तुत गरिएको थियो l भिडिओमा विदेशमा रहँदा आफ्नो गाउँघर, आफन्त र साथीभाइको यादले कसरी सताउँछ भन्ने कुरा यथार्थपरक रुपमा देखाईएको थियो l नियमित रुपमा एकपछि अर्को गर्दै आफ्ना सिर्जनाहरु प्रकाशन गरिरहेका सङ्गम सङ्गीतकर्मलाई निरन्तरता दिईरहने वाचा गर्दै भन्छन्- ‘भविष्यमा पनि मेरा हरेक प्रस्तुतिमा केही न केही नयाँपन दिने प्रयास गर्ने छु l’

सङ्गमले पूर्व समयमा लोकजुहारी, पप, आधुनिक लगायतका गरी लगभग साँढे तीन दर्जन गीतमा स्वर दिईसकेका छन् l अग्रज सङ्गीत प्रशिक्षक प्रकाश गुरुङसँग शाश्त्रीय सङ्गीतको औपचारिक शिक्षा ग्रहण गरी जुनियर डिप्लोमा सम्मको अध्ययन पूरा गरेका सङ्गमले २०५७ सालमा ‘एकै नजरमा’ बोलको गीत रेकर्ड गरी सङ्गीत यात्रामा औपचारिक पाइला अगाडि बढाएका थिए l उनका ‘जाउँ साइँली सरर इलाम बजारमा’ र ‘पोखरा पनि उजाड लाग्छ’ बोलका गीत श्रोताले सर्वाधिक मन पराएका छन् l

गायक बन्ने सपना बोकेर २०५३ सालमा पाँचथरबाट काठमाण्डौ प्रवेश गरेका सङ्गम कसैको प्रेरणा र हौसलाले नभई सानैदेखिको आफ्नै रहरले गर्दा गीत-सङ्गीतमा लागेको बताउँछन् l बुबा बुद्धिबल लिम्बू र आमा फूलमती लिम्बूका ४ भाइ छोरा र ३ बहिनी छोरी मध्ये साहिँलो छोराको रुपमा जन्मिएका गायक सङ्गम हाल काठमाण्डौको बुढानिलकण्ठमा बसोबास गर्छन् l कुराकानीकै सिलसिलामा उनी भन्छन् – ‘२०५३ सालदेखि निरन्तर सङ्गीत क्षेत्रमा सङ्घर्ष गरि नै रहेको छु र सिक्ने क्रम पनि चलि नै रहेको छ l’