-तुलसी गिरी ‘भावुक’
पूर्व प्रधान न्यायाधीश एवं गीतकार कल्याण श्रेष्ठका दुई कृति गीति एल्बम ‘धार बदलिएको जिन्दगी’ र गीतसङ्ग्रह ‘जिन्दगी जति हिँड्यो उति टाढा’ को लोकार्पण गरिएको छ l वरिष्ठ कवि/राष्ट्रवादी गीतकार चूडामणि देवकोटाको सभापतित्वमा आयोजित एक भव्य समारोहमा यी दुई कृतिको लोकार्पण गरिएको हो l
लोकार्पित गीति एल्बम ‘धार बदलिएको जिन्दगी’ मा विशिष्ट सङ्गीतकार शक्ति बल्लभको एकल सङ्गीतमा ‘म मरेको खबर, यादहरु, तिम्रो सौन्दर्यको, म संगको र नेपालका हौँ ’ गरी ५ वटा गीत रहेका छन् l गीतमा मनोहर सुनाम र मिराज श्रेष्ठको सङ्गीत संयोजन रहेको छ भने कर्ण दास, बानिका प्रधान, स्वरुपराज आचार्य, लाबोनी चक्रवर्ती र सुमित खड्काले स्वर दिएका छन् l
समारोहमा एल्बममा पहिलो नम्बरमा रहेको गीत ‘म मरेको खबर’ को भिडिओ समेत प्रदर्शन गरिएको थियो भने सुमित खड्का र बानिका प्रधानले एल्बमका गीत गाएका थिए l म्युजिक भिडिओमा राजेश हमाल र पूजा गिरीको अभिनय रहेको छ l यसैगरी लोकार्पित गीतसङ्ग्रह ‘जिन्दगी जति हिँड्यो उति टाढा’ मा विविध भावका ८२ वटा गीत रहेका छन् l रु. २०० मूल्य रहेको यो पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो l
