-तुलसी गिरी ‘भावुक’
फरक विषयबस्तु र गुणस्तरीय गीतका कारण छोटो समयमै चर्चामा आएका प्रसिद्ध गीतकार दिपेन्द्र अधिकारीको शब्दरचनामा अञ्जु पन्त र दुर्गा पराजुलीको युगल स्वर रहेको प्रेमगीत ‘तिमी नै छौ यो मनमा’ को भिडिओ सार्वजनिक भएको छ l उच्च पहाडी भेगका चौंरी गोठाला युवक र युवती बीचको प्रेमकथामा आधारित यस म्युजिक भिडिओमा रमेश चन्द सोडारी र मिशेल घिमेरेले प्रेमी जोडीको रुपमा बेजोड अभिनय गरेका छन् l आगामी जेठ ९ गते रिलिजको तयारी भईरहेको बहुचर्चित चलचित्र ‘नरसिंहा’ मा पनि दर्शकले रमेश चन्द र मिशेललाई प्रेमी जोडीको रुपमा नभए पनि फरक फरक प्रभावशाली भूमिकामा देख्न सक्ने छन् l गायक दुर्गाकै सङ्गीतमा तयार भएको यस गीतमा राजु कार्कीको म्युजिक एरेन्ज रहेको छ भने किशोर थापाले मिक्सिङ/माष्टरिङ गरेका हुन् l
भिडिओका निर्देशक एवं सम्पादक वीरेन्द्र भाट ‘विपिन’ का अनुसार कथाको माग अनुसार रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिकाको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड वरिपरिका रमणीय स्थानहरुमा २ दिन लगाएर भिडिओको शुटिङ गरिएको हो l लोकप्रिय सिनेमाटोग्राफर महेश महराले भिडिओको छायाङ्कन गरेका हुन् l भिडिओमा चौंरी चरनमै प्रेममा परेका दुई गोठालाको एक-अर्काप्रतिको समर्पण भाव र उनीहरुको काल्पनिक संसारलाई मनमोहक ढङ्गमा प्रस्तुत गरिएको छ l

भिडिओ रिलिज भएपछि आफ्नो भावना अनुरुप शव्दले नयाँ जीवन पाएको प्रतिक्रिया गीतकार दिपेन्द्र अधिकारीले दिएका छन् l यसअघि मनमोहक पोखरा, चुलबुल चुलबुल (मामा भाञ्जीको गीत), नेपालकी छोरी, जनताको मर्म, जीवनको रेल, जिन्दगी हो खेल जस्तै, फर्किन्छु यसपाली (दसैं-तिहार),सपना सजाई आदि शीर्षकका गीत सार्वजनिक गरिसकेका अधिकारी लामो समयदेखि जापानलाई कर्मथलो बनाएर नेपाली गीत-सङ्गीत तथा साहित्यमा निरन्तर क्रियाशील रहेका सर्जक हुन् l ‘तिमी नै छौ यो मनमा’ को भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l
भिडिओका मोडल रमेश चन्द सोडारी म्युजिक भिडिओ एवं चलचित्र क्षेत्रका एक लोकप्रिय कलाकार हुन् भने लगभग डेढ वर्ष अघि म्युजिक भिडिओको मोडल हुँदै कला क्षेत्रमा प्रवेश गरेकी मिशेल घिमिरेलाई म्युजिक भिडिओ तथा चलचित्रका लागि एक राम्रो सम्भावना भएकी कलाकारको रुपमा हेरिएको छ । कला क्षेत्रमा औपचारिक प्रवेशको छोटो समयमै लगभग डेढ दर्जन म्युजिक भिडिओ, लगभग आधा दर्जन नाटक र केही सिरियल फिल्महरुमा अभिनय गरेर दर्शकको मन जितिसकेकी मिशेलले हालै मात्र कथानक चलचित्र नरसिंहा मार्फत चलचित्र क्षेत्रमा समेत डेब्यु गरेकी हुन् l उनले मण्डला थिएटरबाट अभिनय सम्बन्धी ६ महिने तालिम पनि लिएकी छिन् l













 
				
				 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							