उपत्यकाव्यापी छैटौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता हुने

-प्रकाश बराईली ‘अभिव्यक्ति’

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीले ‘उपत्यकाब्यापी छैटौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता – २०८१’ को आयोजना गर्ने भएको छ । प्रतियोगिता नेरिक एकेडेमीको प्राङ्गणमा भदौ १ गतेका दिन भब्य रुपले आयोजना हुने छ ।

उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुर गरी ४० भन्दा बढी विद्यालययहरुका विद्यार्थीहरुले भाग लिने छन् । प्रतियोगितामा १२ देखि १६ बर्ष उमेर समूहका विद्यार्थी र कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र भाग लिन पाउने कुरा नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कँडेलले जानकारी गराएका छन् ।

प्राप्त जानकारी अनुसार प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैया र ट्रफी, द्वित्तीय हुनेलाई १५ हजार रुपैया र ट्रफी, तृतीय हुनेलाई १० हजार रुपैया र ट्रफी, चौथो र पाँचौंलाई जनही ५, ५ हजार रुपैया र ट्रफी पुरस्कार निर्धारण गरिएको छ भने उत्कृष्ट १० लाई ट्रफी प्रदान गरिने र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैया र ट्रफी प्रदान गरिने कुरा नेरिक एकेडेमीका प्रिन्सिपल कँडेलले बताए ।

विद्यार्थीहरुलाई नकारात्मक कुराहरुलाई छोडेर सकारात्मक भावनातिर प्रेरित गर्दै देश, समाज र संस्कृतिप्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतिको जगेर्ना होस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको कुरा समेत प्रिन्सिपल कँडेलले बताएका छन् ।

प्रतियोगितामा वरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहने छ भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा र रिना थापा मगर रहने कुरा आयोजक पक्षले जानकारी गराएका छन् ।