शब्दयात्रा प्रकाशनका दुई पुस्तक ‘चमेली’ र ‘सत्य गीता ज्ञान’ सार्वजनिक

— रोशन मञ्जुश्री अधिकारी

यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘चमेली’ महाकाव्य र गीतादेवी शर्माद्वारा लिखित ‘सत्य गीता ज्ञान’ लाई आज २०८१ साल साउन २७ गते आइतबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले दुवै कृति र कृतिकारका बारेमा जानकारी गराउनुभएको थियो । यी दुई पुस्तकसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकको सङ्ख्या २ सय ३४ पुगेको छ ।

कार्यक्रममा ‘चमेली’ लाई प्रमुख अतिथि रामप्रसाद अधिकारी, कृतिकार यज्ञप्रसाद उपाध्याय त्रिपाठी र आजीवन सदस्य कवि पदम दाहालले सार्वजनिक गर्नुभएको थियो भने ‘सत्य गीता ज्ञान’ लाई प्रमुुख अतिथि रामप्रसाद अधिकारी, कृतिकार गीतादेवी शर्मा र गीतिभास्कर मच्छेश्वर सापकोटाले सार्वजनिक गर्नुभएको थियो ।

आजीवन सदस्य कृष्णमणि कुइकेलले सञ्चालन गर्नुभएको आजको समारोहमा आजीवन सदस्य पुण्यवती घलेले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले कार्यक्रमको स्वराङ्कन तथा छायाङ्कन गर्नुभएको थियो । आजीवन सदस्य अच्युत अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा गोविन्दबहादुर खड्काले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा आजीवन सदस्य केदारनाथ तिमल्सिनाले प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको थियो भने पूर्णबहादुर कर्माचार्यले शब्दयात्रा प्रकाशन पुस्तकालयलाई १० थान पुस्तक उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।