प्रेम र समर्पण भावमा ‘मेरी माया’

अस्मिता अधिकारी र भुवन भट्टराईको स्वरमा रहेको प्रेमगीत ‘मेरी माया’ को भिडिओ सार्वजनिक भएको छ l भुवन भट्टराईकै शब्द र सङ्गीत रहेको यस गीतमा प्रेमको अनन्त कथालाई प्रस्तुत गरिएको छ । भुवन र अस्मिताको स्वरले गीतका शब्दमा कुँदिएका प्रेमका रङ्गहरूलाई जीवन्त बनाएको छ । गीतका शब्दले भनेझैं प्रेमी प्रेमिकाको पहिलो माया, पहिलो भेटलाई मनमोहक रुपमा भिडिओको दृश्यमा प्रस्तुत गरिएको छ, जसले दर्शक/श्रोताहरूलाई पहिलो प्रेमको सम्झना र भावनामा डुबाउँछ ।

गीत तथा भिडिओले दर्शक/श्रोताहरूलाई आनन्द र भरपुर मनोरञ्जन समेत प्रदान गर्दछ । गीतले प्रेम सम्बन्धमा आवश्यक समर्पण र विश्वासलाई गहकिलो अर्थमा प्रस्तुत गरेको छ । दक्षिण कोरियाका मनमोहक स्थानहरुमा छायाङ्कन गरिएको यस भिडिओमा कसरी दुईजनाको प्रेम जीवनलाई अर्थपूर्ण बनाउँन सकिन्छ भन्ने कुरा पनि महसुस गर्न सकिन्छ ।

यस गीतको सङ्गीत संयोजन राजेन्द्र बजगाईले गरेका हुन् l जो आफैंमा पनि एक कुशल गायक तथा सर्जक हुन् l उनको सङ्गीत संयोजनले गीतको माधुर्यतालाई थप सुन्दर बनाएको छ । निर्देशक बिमल सिजालीले गीतको भावनालाई उत्कृष्ट रूपमा भिडिओमा उतारेका छन् भने छायाङ्कन तथा सम्पादन पनि निर्देशक सिजालीले नै गरेका हुन् l सुजल गिरीले निर्माण गरेको यस भिडिओमा कलर सम्पादन राजेन्द्र मोक्तानको र मेकअप अनिका घिसिङको रहेको छ भने शिशिर गिरी र दिया खड्काको सशक्त अभिनयले एक सच्चा प्रेमको कथा प्रस्तुत गरेको छ ।