गीतकार सङ्घको १५ औं स्थापना दिवस सम्पन्न, गीतकार रिजाल रू. १ लाख ५१ हजार सहित सम्मानित

-तुलसी गिरी ‘भावुक’

गीतकार सङ्घ नेपालको १५ औं स्थापना दिवसको अवसरमा आयोजित ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम-२०८०’ मा प्रतिष्ठित गीतकार डा. भोला रिजाल नगद रू. १ लाख ५१ हजार सहित ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ द्वारा सम्मानित भएका छन् l सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा गीतकार रिजाल सम्मानित भएका हुन् l सङ्घले हरेक वर्ष स्थापना दिवसको अवसरमा आफ्ना सदस्य गीतकारहरु मध्येबाट एकजना अग्रज गीतकारलाई यस प्रकारको सम्मान अर्पण गर्दै आईरहेको छ l

समारोहमा मैथिली भाषाका गीतकार अशोक दत्तलाई नगद रू. २५ हजार २ सय ५२ सहित ‘विष्णु मनसरा मातृभाषा गीतकार सम्मान’ र अमेरिकामा बस्दै आएकी गीतकार पद्मा लिङ्खा मगरलाई नगद रू. १५ हजार सहित ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरिएको थियो । यसैगरी ‘भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार-२०८०’ का लागि छनोटमा परेका १० उत्कृष्ट गीत मध्येबाट मदन माबोको ‘आमा’ र विष्णु भण्डारीको ‘चाहना हौ तिमी मेरो’ जनही रू. २८ हजार ५ सय सहित पुरस्कृत भएका छन् । पुरस्कार प्रतिस्पर्धाको उत्कृष्ट १० मा मदन माबोको आमा, विष्णु भण्डारीको चाहना हौ, डा. ओमकृष्ण प्रसाईंको पिता, ध्रुव खनालको रानी तालको, ज्ञान प्रसाद भट्टराईको माटोको माया, सियरा आचार्यको तिमीलाई, किसन सुवेदीको मुटु रेटियो, सबिता पोखरेलको एक चिम्टी सिन्दूर, डा.विष्णुमूर्ति भट्टराईको मुटुमै घाउ र शान्तिराम भट्टराईको नजरको वाण गीत रहेका थिए ।
यस वर्षको ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार-२०८०’ बाट दुई गीति पुस्तक पुरस्कृत भएका छन् । पुरस्कारका लागि ३ पुस्तक छनोट भएकोमा २ पुस्तकले प्रथम पुरस्कार पाएका हुन् l जस अनुसार गीतकार पूर्णबहादुर साउद शिरीषको ‘आधाआधी’ र जनक वाग्लेको ‘मैना चरी कहाँ गई’ पुरस्कृत भएका छन् । साउद र वाग्लेलाई जनही रू. २८ हजार ५ सय सहित पुरस्कृत गरिएको थियो । सङ्घले केही वर्ष यता २ जनालाई प्रथम पुरस्कार दिँदै आएको छ l

कार्यक्रममा प्रमुख अतिथि मन्त्री हित बहादुर तामाङले गीतकार सङ्घ र समग्र कलाकारिता क्षेत्रको सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मानित अग्रज गीतकार डा. भोला रिजालले ‘गीतकार सङ्घले आफूलाई दिएको सम्मानले अझ उर्जाशील बनाएको बताए l कार्यक्रममा विशिष्ट गीतकार राजेन्द्र थापाले सङ्घ आर्थिक सङ्कटबाट गुज्रिरहेको जानकारी गराउँदै पूर्व कार्यसमितिहरुले आर्थिक स्रोत बिना नै ठूलो रकमको पुरस्कार/सम्मान घोषणा गरेकाले त्यसलाई निरन्तरता दिन कठिन भईरहेको स्पष्ट पारेका थिए l थापाले भने-‘यसरी नगद सहितको पुरस्कार घोषणा गर्दा कमसेकम आउने १० वर्षका लागि रकमको व्यवस्था गरेर मात्र गर्नु पर्छ l’

समारोहमा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी रजिष्ट्रार पुण्यमाया गुरागाईं, सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटा, ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ कोषका संरक्षक अमर बान्तु लगायतका सर्जकहरुले आ-आफ्ना भनाईहरु राखेका थिए l कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष कृष्णहरि बराल, गीतकार एवं पूर्व अर्थमन्त्री एस्पी कोइराला, सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, अग्रज गीतकार विश्वबल्लभ, अग्रज पत्रकार गोपाल थपलिया लगायत गीत-सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो l

समारोहका सभापति एवं सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाले सङ्घले सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिइएको बताए । उनले गीतकारहरुलाई राज्यबाट नीतिगत रुपमै सम्बोधन हुनु पर्ने समेत धारणा राखेका थिए । कार्यक्रममा ३४ जना नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सङ्घका कोषाध्यक्ष चेतन खतिवडाले स्वागत मन्तव्य राखेको सो समारोह उपाध्यक्ष रमेश कोइरालाले सञ्चालन गरेका थिए ।