‘नेपाल फेसन फेस्टिभल-२०२४’ को तयारी पूरा

‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा तीनदिने ‘नेपाल फेसन फेस्टिभल २०२४’ को आयोजना हुने भएको छ । नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत वा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस नेटवर्क प्लेटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन) ले नेपालमै पहिलो पटक यो फेस्टिभलको आयोजना गर्न लागेको हो ।

यो बृहत् महोत्सव ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आगामी जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फेसन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गर्न लागिएको बताएका छन् । ताम्राकारले फेसन नेटवर्क नेपालले नेपाली फेसन, सौन्दर्य, जीवनशैली तथा कला क्षेत्रको उत्सवको रुपमा तीनदिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना गर्न लागेको बताएका छन् ।

आयोजक संस्थाका संस्थापक निर्देशक शेखर राज कशजुका अनुसार यो फेस्टिभल रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्यले आयोजना गर्न लागिएको हो । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यो फेस्टिभलको अधिकांश तयारी पूरा भइसकेको आयोजक संस्थाले जनाएको छ । नेपालको फेसन उद्योगलाई डिजिटलाइजेन गर्दै अनलाइन र इकमर्शमार्फत यसलाई प्रमोट गर्ने उद्देश्यले स्थापना भएको फेसन नेटवर्क नेपालले भौतिक रुपमा समेत फेसन उद्योगलाई चलायमान, संस्थागत तथा व्यावसायिक बनाउन केही नयाँ कार्य गर्नैपर्छ भन्ने उद्देश्यले तीनदिने नेपाल फेसन फेस्टिभल आयोजना गर्न लागेको जनाइएको छ ।

‘हामीले एक-अर्कासंग नेटवर्किङ गर्न सकियोस्, सहकार्य गर्न सकियोस्, एक-अर्कासंग हातेमालो गर्न सकियोस् अनि आफूले हासिल गरेको अनुभव शेयर गर्न सकियोस् भनेर यो फेस्टिभलको आयोजना गर्ने निर्णय गरेका हौं l पहिलो पटकको आयोजनामा कम्तिमा ७५ वटा स्टलमार्फत तीन दिनसम्म समाजका विभिन्न क्षेत्र, जुन हाम्रो जीवनशैलीसंग पनि नजिक छ, ती सबैलाई एउटै छानामुनि समेट्ने प्रयास गरेका छौं’ संस्थापक कसजु भन्छन् l

फेसन भन्ने बित्तिकै ग्ल्यामर फोटोग्राफी पनि संगसंगै जोडिएर आउने भएकाले महोत्सवको क्रममा फेसन फोटो प्रदर्शनीसमेत आयोजना हुँदैछ l जहाँ नेपालका अनुभवी तथा सिद्धहस्त पाँचजना फेसन फोटोग्राफरले खिचेका उत्कृष्ट फेसन फोटोग्राफीहरुको प्रदर्शन गरिने छ । त्यसक्रममा आयोजना हुने फोटो टक सेसनमा यी फोटोग्राफरहरुले महोत्सवमा प्रदर्शन गरिएका फोटोहरुका बारेमा जानकारी मात्र गराउने छैनन्, फोटोग्राफी अनुभव, चुनौती तथा सम्भावनाहरुका बारेमा समेत स्पष्ट पार्नेछन् ।

महोत्सवमा फेसन फिल्म शोकेस समेत समावेश छ, जहाँ फेसन भिडिओग्राफीहरु शोकेश गरिने छ । फेसन उद्योगमा आवद्ध व्यक्तिहरुले कुनै न कुनै रुपमा तयार पारेका भिडिओ कन्टेन्टहरुलाई यसक्रममा प्रदर्शन गरिने छ ।यसबाहेक महोत्सवमा हरेक साँझ फेसन रनवे आयोजना हुनेछ, जहा महोत्सवमै सहभागिता जनाएका बुटिक, फेब्रिक, फेसन डिजाइनरका पहिरनहरु शोकेश गरिने छ । फेसन शोमा क्याटवाक गर्ने मोडलहरु केही समयअघि अडिसनमार्फत छनोट भैसकेका छन् ।

उक्त फेसन शोमा क्याटवाक गर्दै नेपालका स्थापित डिजाइनरहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गर्नका लागि झण्डै केही दर्जन नयाँ मोडलहरुलाई आयोजक संस्थाले पहिलो पटक र्याम्पमा प्रस्तुत गर्दैछ । उक्त फेसन शोमा सहभागिता जनाउनका लागि गत वैशाख १५ गते शनिवार गरिएको अडिसनबाट मोडलहरु छनोट भैसकेका छन् ।