अमेरिकाको एटलान्टामा आगामी अगष्ट २४ मा सम्पन्न हुने ‘इन्टरनेशनल सिङ्गर सङराइटर्स एशोशिएन’ले आयोजना गरेको छैटौँ ‘आइएसएसए अन्तर्राष्ट्रिय अवार्ड’मा नेपालबाट सञ्चारकर्मी समेत रहेका प्रसिद्ध गीतकार लोकराज अधिकारी मनोनित भएका छन् । आयोजकले गत सोमबार सार्वजनिक गरेको विभिन्न ४६ विधाको नामावलीमा नेपालबाट एकजना मात्र गीतकार अधिकारी ‘पुरुष गीतकार’ विधामा मनोनयनमा परेको जनाईएको छ । अधिकारीसँगै उक्त विधामा विश्वका विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन् ।
आयोजकले सोमबारदेखि नै इलेक्ट्रोनिक भोटिङ खुला गरेका छन् । गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधिका रूपमा यो मनोनयनलाई लिएको बताएका छन् । भोटिङबाट टप २० को छनोट हुने कुरा थाहा भएको छ । अप्रिल ३० सम्म इलेक्ट्रोनिक भोटिङ खुला रहने र मे २ मा टप २० को घोषणा हुने कुरा जानकारीमा आएको छ । यसैबीच गीतकार अधिकारीले देश विदेशबाट सबैले भोट गरेर नेपाललाई टप २० मा पुर्याउन समेत आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने महोत्सव/फेस्टिवल/कन्सर्ट जस्ता कार्यक्रममा नेपाली स्रस्टा /कलाकारको उपस्थिति र प्रस्तुति रहने गरेपनि गीतको अन्तर्राष्ट्रिय अवार्डमा नेपालका तर्फबाट मनोनित हुने गीतकार अधिकारी नै पहिलो सर्जक हुन् l भोटका लागि एउटा डिभाइसबाट दैनिक एकपटक भोट गर्न सकिने आयोजकले जनाएका छन् ।
यो अवार्डमा अन्तर्राष्ट्रियतर्फ एशिया महादेशबाट गतवर्ष युगल गायनमा भारतबाट मनोनित S.P. Balasubrahmanyam र S.J.Jananiy ले Bronze अवार्ड जितेका थिए । त्यस अघिका संस्करणमा एशिया महादेशका कुनैपनि देशबाट सहभागिता रहेको थिएन । छैटौं संस्करणमा नेपाल मनोनयनमा परेको हो । गीतकार अधिकारीका तिम्ले पराई ठाने पछि, रुपै मोहनी, बाजा बजाउँदै, मर्छु बरु छट्पटीमा, हेप्नी मलाई, भन्नुहुन्थ्यो बा ले, ओ ओ मेरो परान लगायत दजर्नौ गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।