शक्तिबल्लभ र बाबुराम पोखरेलको सहकार्यमा ‘सिर्जनाका फूलहरु’


प्रतिष्ठित सङ्गीतकार शक्तिबल्लभ र गीतकार बाबुराम पोखरेलको ‘सिर्जनाका फूलहरु’ सार्वजनिक भएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा गीतकार सङ्घकै सभाहल विजुलीबजारमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो । सम्मानित गीतकार विश्वबल्लभको प्रमुख आतिथ्यतामा ‘सिर्जनाका फूलहरु’ गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो ।

एल्बममा शक्तिबल्लभको एकल सङ्गीत र बाबुराम पोखरेलको एकल शब्द सिर्जना, मनोहर सुनाम र निरज श्रेष्ठको सङ्गीत संयोजन एवं भोला पौडेलको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ । एल्बमका गीतमा आनन्द कार्की, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का, माण्डवी त्रिपाठी, बानिका प्रधान र गीतकार पोखरेलकै स्वर रहेको छ ।

गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश कोइरालाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रतिष्ठित सङ्गीतकार शक्ति बल्लभ, वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठ, कराँते महासङ्घका उपाध्यक्ष डा.ओमकृष्ण प्रसाईँ, वरिष्ठ सङ्गीतकार तथा सङ्गीत संयोजक मनोहर सुनाम, रेकर्डिष्ट भोला पौडेल, गायिका माण्डवी त्रिपाठी, पत्रकार सबिता पोखरेल, गायक नवीन कार्की, सङ्गीतकार ज्योतिप्रकाश, गायक चिरञ्जीवि भण्डारी लगायत गीत-सङ्गीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सङ्घकी सचिव शितल कादम्बिनीले दिएकी थिइन् भने गीतकार तथा पत्रकार सुमन बैरागीले कार्यक्रम संचालन गरेका थिए ।  

‘सिर्जनाका फूलहरु’ गीतसङ्ग्रहमा असाध्यै राम्रा गीत बनेको बताउँदै गायक आनन्द कार्कीले गीतकार बाबुराम पोखरेललाई शुभकामना दिए । सङ्गीतकार शक्ति बल्लभलाई सङ्गीत उद्योगमा सुरुदेखि आजसम्म निरन्तर सफल यात्रा गर्ने सङ्गीतकारको रुपमा पाएको र आफूले पनि रेडियो नेपालमा ‘जीवनमा धेरै खोला तर्नु छ’ पहिलो गीत गर्दादेखि हालसम्म पनि सहकार्य गर्न पाएकोमा गायक कार्कीले खुशी व्यक्त गरे । ‘उहाँले छोएका गीतहरु सफल भएका छन् र उहाँको आशिर्वादले म पनि सफल भएको छु’ गायक कार्कीले सङ्गीतकार बल्लभको प्रशंसा गरे ।

‘सिर्जनाका फूलहरु’ गीतसङ्ग्रह सार्वजनिक भएसँगै कार्यक्रमका अतिथि लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले गीतकार पोखरेलाई शुभकामना व्यक्त गर्दै सङ्गीतकार शक्ति वल्लभका सिर्जना विगतदेखि वर्तमानसम्म कुनै पनि दुर्घटनामा नपरेको बताए । सङ्गीतकार बल्लभले सिर्जना गरेका गीतहरु आफैंमा अब्बल रहेको बताउँदै गीतकार पोखरेलको शब्द सिर्जना पनि मौलिक र शुद्ध रहेको बताए । गाउँमा छँदा नै सङ्गीतकार बल्लभका गीत सुनेर यो क्षेत्रमा लागेको हुँदा उनको संस्कारलाई दोस्रो पुस्ताले सिक्नुपर्ने कुरा धेरै भएको बताए ।

त्यसैगरी गीतकार बाबुराम पोखरेलले ‘सिर्जनाका फूलहरु’ गीतसङ्ग्रहमाथि आफ्ना अनुभव सुनाउँदै गाउँमा छँदाको रोधीदेखि साथीभाइको प्रेरणाले गर्दा गीतिलेखनमा लागेको बताए । कृषि विकास बैंकमा छँदा सङ्गीतकार शक्ति बल्लभको संगत गर्न पाएको र उनका सिर्जनाले आकर्षित गरेको बताए । गीतकार पोखरेलले आफैंले लेखेको गीतमा २०४२ सालमा नाटक गरिएको अनुभव बताउँदै हरेक शब्द सिर्जनामा कथा बुनेको हुँदा एउटा इतिहास निर्माण भएको बताए ।

त्यस्तै गीतसङ्ग्रहका सङ्गीतकार शक्ति बल्लभले गीतकार पोखरेलको शब्दमा नै सङ्गीतको लाइन रहेको बताउँदै उनका सिर्जना अब्बल रहेको बताए । ‘शब्द लेखनमा फरक शैली र गीतका भाव हुनुले उहाँसँग रहेको सङ्गीतको ज्ञानले सहज भयो l उहाँ राम्रो गायक पनि हुनुहुन्छ’ बल्लभले भने । सरल शैलीमा अब्बल गीत लेख्न सक्ने क्षमता भएका गीतकारको रुपमा आफूले पाएको सङ्गीतकार बल्लभले बताए ।

त्यसैगरी गीतकार तथा कराँते महासङ्घका उपाध्यक्ष डा.ओमकृष्ण प्रसाइँले गीतकार र सङ्गीतकारको अब्बल सिर्जना सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै गीतलेखनमा परिपक्व रहेको बताए । उनले सबै गीतहरु सुनेर आफूले समीक्षा लेख्ने पनि समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि सम्मानित गीतकार विश्व वल्लभले गीतकार बाबुराम पोखरेलको लेखनमा इमान्दारिता झल्किएको बताए । गीतकार पोखरेललाई शुभकामना दिँदै यो क्षेत्र अति गाह्रो रहेको र लेखनमा अझैं प्रतिस्पर्धा रहेको बताए । सङ्गीतकार, गायक, गायिका अब्बल छानेका कारण गीतकार पोखरेलको शब्द सिर्जनाले पनि मूर्त रुप पाएको बताउँदै ‘सिर्जनाका फूलहरु’ गीतसङ्ग्रहको सफलताको शुभकामना दिए ।

कार्यक्रमलाई समापन गर्दै सभापति रमेश कोइरालाले गीतकार बाबुराम पोखरेलका गीतहरु नेपाली समाजलाई अग्रपङ्क्तिमा लैजाने गीत भएको बताए । गीतले समाज र मानवजीवनमा प्रभाव पार्नुका साथै व्यक्तिको परिचयलाई अमर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गीतकारहरु पछिल्लो समय मरेर बाँचिरहेका छन् भन्दै ९० प्रतिशत गीतहरु गीतकारको लगानीमा रहेको बताए । गीतसङ्गीतको क्षेत्रमा प्रष्ट नीति नआएको हुँदा सङ्गीत क्षेत्रमा गीतकारहरु झन् धरापमा रहेको कोईरालाले बताए ।