व्यवस्था बदलियो अवस्था बदलिएन : म्युजिक भिडिओ ‘नजाने भो हाम्रो दु:ख’

-तुलसी गिरी ‘भावुक’

वरिष्ठ साहित्यकार नारद पोखरेलको शब्दरचना, वरिष्ठ चित्रकार एवं सङ्गीतकार ज्योतिप्रकाशको सङ्गीत तथा मेलोडी सुल्तानको उपनामले विख्यात गायक शिशिर योगीको स्वरमा रहेको गीत ‘नजाने भो हाम्रो दु:ख’ को भिडिओ सार्वजनिक भएको छ l अग्रज गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यमा आज राजधानीमा आयोजित एक समारोहमा सो म्युजिक भिडिओको लोकार्पण गरिएको हो l नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको सो गीतको मिक्सिङ/माष्टरिङ महेश्वरमान राजभण्डारीले गरेका हुन् l

मुलुकको समसामयिक अवस्थाको यथार्थ चित्रण गरिएको यो म्युजिक भिडिओमा ‘दारी बा’ को उपनामले उच्च ख्याति आर्जन गरेका कलाकार सुरवीर पण्डीत र वरिष्ठ कलाकार रश्मी भट्टले प्रमुख कलाकारको भूमिकामा अभिनय गरेका छन् भने राजानन्द मन्डव्य लगायतका कलाकारहरुलाई सहायक भूमिकामा देख्न सकिन्छ l दीपेन्द्र प्रकाश के.सी. को निर्देशनमा छायाङ्कन भएको यस  भिडिओमा गोविन्द अन्जानको सिनेमाटोग्राफी र कल्पेश विश्वकर्माको सम्पादन रहेको छ l सविना र नारद पोखरेलको लगानीमा निर्माण भएको यस भिडिओको पोष्ट प्रोडक्सनको काम आरब प्रोडक्सनले गरेको हो l

व्यंग्यात्मक/सन्देशमूलक यस भिडिओमा व्यवस्था बदलिए पनि सर्वसाधारण जनताको अवस्था झन् झन् दयनीय हुँदै गरेको, देश चलाउनेहरुको नालायकी पन र गैर जिम्मेवारीका कारण समाज र परिवारमा परेको अनेकन प्रकारका नकारात्मक प्रभावको बारेमा मार्मिक ढङ्गमा यथार्थपरक कथा प्रस्तुत गरिएको छ l

खासगरी विकृति र विसङ्गति विरुद्ध, जीवन भोगाईका गहिरा दर्शनका साथै खबरदारीका गीतका लागि निर्विकल्प गायकको रुपमा स्थापित शिशिर योगीले समारोहमा आफ्ना भनाईहरु राख्दै ५०० भन्दा बढी आफ्ना गीत मध्ये सबै पक्षबाट यो गीत ‘टप-१०’ मा पर्ने बताएका छन् l भिडिओ ओएसआर डिजिटल नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l