सिडी विजय अधिकारीको स्वरमा दीपेन्द्रको ‘जीवनको रेल’

-प्रकाश सुवेदी

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको `जीवनको रेल´ बोलको गीत पुरुष स्वरमा पनि सार्वजनिक भएको छ । गीतकार दीपेन्द्र अधिकारीको सृजनामा रहेको `जीवनको रेल´ बोलको गीतको भिडिओ शुक्रबार डिए क्रिएसन युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीले स्वर दिएको यस गीतमा राजु कार्कीले सङ्गीत संयोजन गरेका छन् । राजधानीको अनामनगरमा रहेको त्रिवेणी डिजिटलमा रेकर्डिङ भएको यस गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका हुन् ।

भिडिओ सिलौटो कटेज, अनामनगरमा छायाङ्कन यस म्युजिक भिडिओमा छायाङ्कन, सम्पादन र निर्देशनको भूमिका वीरेन्द्र भाट ‘विपिन’ ले निभाएका छन् । भिडिओमा गीतको मर्मअनुसार गायकलाई मात्र प्रस्तुत गरिएको छ । ‘जीवनको रेल छुटेर जाँदा थाहा नै भएन, सपना सबै टुटेर जाँदा थाहा नै भएन l गर्नलाई त कल्पना सुन्दर गरेकै थिएँ नि, यस्तरी भाग्य फुटेर जाँदा थाहा नै भएन l’ सानातिना क्षणिक खुशी र आवेगमा रमाउँदा जीवनले अर्कै मोड लिएर क्षतविक्षत भएपछि मात्र थाहा भएको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ । जब जीवनमा हरेक सुख र खुशीहरु लुटिन्छन् त्यतिबेला मान्छे शून्य जस्तै हुन्छ । न उसलाई कसैको भर नै हुन्छ न त डर नै ।

गीतमा जानेर या कसैको लहैलहैमा गरेका गल्ति र त्यसले पार्ने दीर्घकालिन असरलाई सरल तरिकाले पस्किएको छ । विशेषगरि मुक्तक लेखनमा हात हालेका दीपेन्द्रका मनमोहक पोखर, चुलबुल चुलबुल प्यारी भाञ्जी, नेपालकी छोरी लगायातका गीतहरु यस अगाडि न‌ै नेपाली गीत सङ्गीतको बजारमा आईसकेका छन् ।